१८ असाउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध गर्ने बताएका हुन् ।
‘हामी बल गर्दैछौं । एकताबद्ध भएर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिरोध गर्ने कोसिस गरेकाछौं । हाम्रो वर्गसँगै जोडिने फेरि बल गर्दैछौं’, केही भावुक हुँदै प्रचण्डले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जिवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नु पर्ने कुनै कारण नभएको पनि बताए । यो अदालत प्रवेश गर्ने विषय नै नभएको बताउँदै उनले यसलाई राष्ट्रिय दिवसकै रुपमा आत्मसाथ गरेर मनाउनु पर्ने बताए ।

