काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन नदिने षडयन्त्र जारी छ । त्यसका लागि दिनजसो केन्द्रीय तथा जनसंगठनहरुको बैठक चल्दै आएको छ ।
यसैक्रममा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीले गरेका निर्णयअनुसार परिचालित हुन नेता तथा जनसंगठनहरूलाई निर्देशन दिएका छन् ।
शनिबार साँझ बालुवाटारमा जनसंगठन संयन्त्रको बैठकमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा संस्थागत निर्णय भइसकेकाले भण्डारीलाई पूर्वराष्ट्रपतिकै मर्यादामा सम्मान गर्नुपर्ने दोहो¥याउँदै यस्तो निर्देशन दिएका हुन् ।
केही समयअघि बसेको केन्द्रीय तथा पोलिटब्यूरो बैठकले विद्यालाई एमाले राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ओली भने, ‘निर्णय भनेको निर्णय हो । अब दायाबायाँ नगरी त्यसको कार्यान्वयनका लागि एकतावद्ध भएर जानुपर्छ र हाम्रो सम्पूर्ण ध्यान मिसन ८४ मा हुनुपर्छ ।’
बालुवाटार बैठकबारे एमाले नेता विष्णु रिजालले पनि सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । मानवाधिकार एलायन्सका इन्चार्जसमेत रहेका रिजालले फेबुबुकमा लेखेका छन्, ‘अध्यक्ष कमरेडले भन्नुभयो– कुन व्यक्तिले के भन्दछ भन्ने आधारमा होइन, पार्टीले संस्थागत रूपमा के निर्णय गर्दछ भन्ने आधारमा जनसंगठन चल्नुपर्छ ।’
रिजिालका अनुसार २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष र महासचिव सहभागी बैठकमा विधान महाधिवेशनका सन्दर्भमा हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय स्पष्ट गराउँदै कार्यान्वयनमा एकरुप बुझाइ कायम राखेर जानुपर्ने ओलीले बताएका थिए ।

