काठमाडौं । प्रहरीले गण्डागर्दीमा संलग्न चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ । गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चक्रे मिलनको ‘बर्थडे पार्टी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।
चक्रे मिलन जन्मदिनको पाटी मनाइरहेको अवस्थामा महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि उनी २०७४ वैशाख २६ गते पक्राउ परेर छुटेका थिए ।
महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्न केही व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताएका छन् ।
प्रहरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई बुधबार राति पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।
रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

