३० असार, काठमाडौं । गत महिना इरानमाथि इजरायलले गरेको एक आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको इरानको रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार, इरानले हाल यस घटनामा इजरायली एजेन्टहरूको घुसपैठ भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ ।
फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार जुन १६ मा इजरायले इरानको राजधानी तेहरानस्थित एउटा गोप्य भूमिगत केन्द्रमा ६ वटा बम आक्रमण भएका थिए ।
त्यस समय राष्ट्रपति पेजेश्कियान त्यहाँ सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सहभागी थिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछिको सबैभन्दा ठूलो निर्णय गर्ने निकाय हो ।
केन्द्रमा आक्रमणपछि राष्ट्रपति पेजेश्कियान र अन्य सदस्यहरू आपत्कालीन सुरुङबाट बाहिर निस्कने क्रममा खुट्टामा चोट लागेको थियो ।
इजरायलको आक्रमणबाट इरानी राष्ट्रपति सामान्य घाइते भएको भन्ने फार्स एजेन्सीको यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । यद्यपि इरानले घुसपैठ भएको हुनसक्ने आशंकामा आन्तरिक अनुसन्धान गरिरहेको छ ।
एजेन्सी

