Breaking News

तीनकुने घटना : दुर्गा प्रसाईं सहित ७ जना थुनामा ३२ जना धरौटीमा रिहा

२९ जेठ, काठमाडौं । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको बिधोङसमा मुछिएका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौले आदेश दिएको छ ।

राति सवा १२ बजे अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो ।

सोही अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले मुद्दा अनुसार काम अघि बढाएको छ ।
आदेश लेखनमा सहभागी शाखा अधिकृत बालाजी प्रसाद पाण्डेका अनुसार, आदेश १ सय ५५ पन्नाको छ ।

तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

‘उपस्थित नै नभएको उहाँहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ,’ पाण्डेले भने, ‘पहिलै आदेश भइसकेको छ । अहिले केही आदेश गर्नुपर्ने नै छैन ।’