– मोतीराज बम
कुरा नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काकै हो । कर्णाली प्रदेशको कर्णाली अञ्चलमा पैठ ( देउताको पर्व ) आउँनु केही समय अगाडि देखि नै देउताका धामीडाङ्ग्रीहरु चोखोआखो हुने, अरुले छोएको नखाने, नुवाइधुवाइ गर्ने, पैठका सरसामाग्री जोड्ने गर्दछन् । समाजभन्दा अलग्गै उनको पहिचान बनेको हुन्छ । त्यस्तो समयमा कुनै धामीडाङ्ग्रीहरु यस्तो क्रियाकर्ममा देखिएनन् भने पक्कै त्यहाँ केही घटना भयो भनेर समाज शङ्का गर्दछ । शङ्का स्वभाबिक पनि हो । आफ्नो समयमा ताप्के तात्नै पर्दछ । पार्टीको १५ औं महाधिवेशन पनि काङ्ग्रेस नेता कार्यकर्ताका लागि महान पैठ हो । यो पैठमा धामी हुन खोज्नेहरु र फेरि हुन खोज्नेहरुले केही न केही लक्षण त देखाउनै पर्छ । घारमा मौरी आउँनु पूर्व जुन फरक मौरीहरुको चहलपहल देखिन्छ त्यस्तै नेताको घरमा पनि शुभचिन्तकको भिड्भाड लाग्नैपर्छ । तर उपसभापति पूर्णबहादुर खड्का यो तमासाबाट टाढै हुनुहुन्छ । भेट्न जानेहरूको भनाइ छ उहाँको चासो नभएको पनि होइन र कुनै प्रतिक्रिया पनि छैन ।
पार्टीको १४ औं महाधिवेशनमा गान्धीवादी नेता महेन्द्रनारायण निधि पुत्र बौद्धिक नेता बिमलेन्द्र निधि नजिक भएको आरोप लगाएर मलाई कालीकोट जिल्ला सभापति हुन रोकियो । मेरा विरुद्ध कनिष्ठ ब्यक्तिलाई उभ्याइयो । आफूले नै बिश्वास गरेका र भगवान् मानेका नेताबाट षड्यन्त्र हुँदा म निकै दुखित भएको थिएँ । यस्तो षड्यन्त्र मेरै जिल्लाका शकुनि मनोवृत्तिका मान्छेहरुबाट भएको हो । यति हुँदाहुँदै पनि म आफ्नो नेतासँग कुरा राख्नैपर्छ भन्ने ठानेर सुर्खेत उहाँको घरमा गएर कुरा राखेँ । लामो भनाभन पछि मलाई सहयोग हुने अवस्था रहेन भन्ने लाग्यो । अन्तिममा उहाँले भन्नुभो म देउवाको बिचार समूहमा छु तपाई जे मन लाग्छ गर्नु । देउवाको बिचार समूह भन्दा मलाई हाँसो लाग्यो । त्यो वाक्यको पछि विश्लेषण गरेँ मैले । ०५६ सालमा चुनाव जितेपछि टेलिभिजनको एक अन्तरबार्तामा किशुनजीले भन्नुभएको थियो -” यो सभासदको तलबले मलाई रक्सी खान पुग्छ ” । धेरैले किशुनजीको खिल्ली उडाए । कतिले बौलाहा पनि भने । तर यसको अर्थ ठूलो थियो । गहिरो र गम्भीर पनि थियो । सार्वजनिक पद धारण गरेका सबैले किशुनजी जस्तै मलाई मेरो तलबले खान पुग्छ, लाउन पुग्छ, छोराछोरी पढाउन पुग्छ भन्ने सेाँँच राखेर काम गरेको भए आज यसरी भ्रष्टाचार मौलाउने थिएन । अपराध बढ्ने थिएन । लोभीपापीहरुको विग्विगी हुने थिएन । त्यस्तै पूर्णबहादुर खड्काको त्यो भनाइमा पनि गम्भीर अर्थ लुकेको रहेछ पछि थाहा भयो । अहिले उहाँ जुन स्थानमा हुनुहुन्छ कर्णाली प्रदेशको लागि गर्वको कुरा हो ।
०५१ सालको उपनिर्वाचनमा किशुनजीलाइ खुल्लमखुल्ला अन्तरघात गरेर हराएको आफ्नै आँखाले देख्दा मलाई ठूलो पीडा भयो । त्यो दिनदेखि सुशील कोइरालासँग नजिक हुने कुनै चासो र इच्छा जागेन । तत्कालीन मध्यपश्चिमका प्रभावशाली नेताहरुमा सुशील कोइराला, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का नै हुन् । म खुमबहादुर खड्कासँग नजिकिन पुगेँ । खुमबहादुर खड्काको देहावसान पछि मानिएका नेता पूर्णबहादुर खड्का हुन् । ईमान र अडानका धरोहर पूर्णबहादुर खड्का अहिले शक्तिशाली पदमा आसिन हुनुहुन्छ । उहाँ कतिसम्म आफ्नो प्रभाव राख्नुहुन्छ भन्ने एक उदाहरण यस्तो छ – निहित स्वार्थले निथ्रुक्क भिजेको एक ब्यक्ति खड्काको कटु आलोचना गर्दै डाक्टर शेखर कोइरालाकोमा केही पद माग्न पुग्छ । डाक्टर शेखर कोइरालाले उसको कुरा सुनेपछि बडो आदरपूर्वक भन्नुभो तपाईंको सम्बन्ध हाम्रो उपसभापति खड्काजीसँग कस्तो छ ? उहाँको इच्छा नभई मत केही गर्न सक्तिनँ । उ नाजवाफ फर्कियो । कोइरालाको सँस्कार र पार्टी पद्धति प्रतिको पवित्र एवं दृढ बिचार थियो त्यो । नेताले एकैपटक सबैको ब्यबस्थापन गर्न सक्दैनन् । धैर्य रहने बानी नभएकाहरु यसरी नै तिल्मिलाउछन् र हराउँदै जान्छन् । त्यसकारण यो प्रष्ट हुन्छ कि कर्णाली प्रदेशमा पार्टीको भागबन्डामा जोसुकै परोस् पूर्णबहादुर खड्काको स्वीकृति बिना असम्भव छ । कसैलाई लाग्दोहोला म सभापतिको कोटाबाट परिहाल्छु । सभापतिले पनि यस प्रकारका मामिलामा रायसुझाब लिने खड्कासँगै हो ।
कर्णाली प्रदेशमा खड्का असहमत एउटा समूह छ । त्यो समूह पनि संघर्षबाटै आएको हो । प्रजातन्त्रको लागि लगानी, कुर्बानी, त्याग, समर्पण सब भएको समूह हो । तर कस्तो छ भने त्यो समूह सन्तुलन भन्दा संकुचनमा ब्याप्त छ । बिश्वास भन्दा अबिश्वास बढी गर्छ । काम भन्दा गफ र मैदान भन्दा कोठामा अधिक रमाउने गर्छ । जनता र कार्यकर्ताले नेताको उदार दिल, व्यापक छाती, प्रष्ट बिचार खोजेका हुन्छन् । बरु यो गुण खड्कामा भेटिएला त्यहाँ भेटिने कल्पना पनि गर्न सकिन्न । यस्तो प्रवृत्तिले न कार्यकर्ताको हित हुन्छ न जनताको हित हुन्छ । हुन्छ त केवल ब्यक्तिको मात्रै । श्रीमान् श्रीमती बिश्वासले चल्ने हो दुबै गलतै किन नहुन् । एकअर्काप्रति शङ्का रहेन भने घरपरिवार मज्जाले चल्छ । राजनीति पनि त्यही हो । कार्यकर्ताको बिश्वास नेताप्रति र नेताको बिश्वास कार्यकर्ताप्रति हुनैपर्छ संगठन चल्न ।
धोका दिनेले दिन्छन् त्यो अलग कुरा हो । बिश्वासले नै हो सारा चीज बन्ने । जब कार्यकर्ता र नेताको बीच अबिश्वासको पर्खाल लाग्छ अनि सब चीज भताभुङ्ग हुन्छ । बिश्वास एक उर्जा हो । धोका एक अपराध हो । उद्वेस्य एक नदी हो । नदीको बाटो रोक्ने धेरै प्रयत्न हुन्छन् तर अन्तमा नदीले सबै बाधाहरु समेत बगाएर आफ्नो बाटो तय गर्छ ।
सिङ्गो जनमानसले उपसभापति पूर्णबहादुर खड्काको बारेमा यस्तो विश्लेषण गरेको छ – पूर्णबहादुर खड्का प्रष्ट हुन् पापिष्ट होइनन् । खरो हुन् खराब होइनन् । छुच्चो हुन् क्षुद्र होइनन् । लोभलालच, मायामोह, आशा, कुण्ठाबाट माथि उठेर केही गरौं भन्ने उच्च मनोकाङ्क्षाका साथ अगाडि बढेका नेता हुन् । उहाँको जुन स्थान छ त्यो आफ्नै बलबुता र कलाले प्राप्त गरेको हो । उहाँलाई पछाडिबाट पुस गर्ने आजका मितिसम्म कोही देखिएको छैन । उहाँले आफैं सक्रिय भएर बनाएको सहयोगी संरचना अहिले निकम्मा जस्तै छ । पूर्णबहादुर खड्कालाई बनाउँ भन्नेमा होइनकि बनेपछि खाउँ, हत्याउँ, लट्पट्याउँ भन्ने पक्षमा उहाँको सहयोगी समूह देखिन्छ । १४ औं महाधिवेशनमा उहाँको बफादारीपूर्ण सक्रियताले कर्णाली प्रदेशमा प्रदेश कार्यसमिति, कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य, प्रदेश माननीय, प्रदेश सरकारमा मन्त्री, राजदूत, विभिन्न आयोगमा नियुक्ति पाएको एक उहाँ निकट बलियो र बहुमत संरचना छ । यसै मध्यको एक प्रमुख हो प्रदेश सभापति । जुन लक्ष्यका साथ प्रदेश सभापति बनाउनुभो बनिसकेपछि उनले खड्काको पक्षमा माहोल बनाउनुत के आफ्नै नाक काटेर संगठन कलङ्कित बनाइदिएकाछन् । सरासर यो बेइमानी हो । त्यसको अपजस पनि खड्काले नै लिनुपरेको छ । धुलोबाट टिपेर सिंहाशनमा राखेका केही ब्यक्ति कटु आलोचक बनेर ठाउँ कुठाउँ चाहारी रहेकाछन् । अर्थ मन्त्रीको केटौली स्वभावले प्रदेश काङ्ग्रेसको नुर गिरिरहेको छ । यसरी उहाँले बनाएकाहरु आफ्नो हैसियत र गुन बिर्सेर खड्काकै खोइरो खनिरहेकाछन् । यस्तो बिकामको संरचना तयार गरेर खड्काको अगाडि बढ्ने बाटो अवरुद्ध पारिएको छ ।
उता ७ दाजुभाइको समूह, वरिष्ठ नेता डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापाको संरचनागत समूह खुल्लमखुल्ला आ-आफ्ना नेतालाई काँधमा बोकेर हिडिरहेका छन् । कारण र एजेन्डा सहित सभापतिको उम्मेदवार बनाइरहेका छन् । तर १५ औं महाधिवेशनको माहोल तात्दा पनि उपसभापति खड्काका अवयबको रूपमा काम गर्नेहरू चुपचाप छन् । अथवा बोल्न डराइरहेका छन् कि आनाकानी गरिरहेका छन् ? यो बेइमानीकै पराकाष्ठा हो । साँच्चै कर्णालीले प्राप्त गरेको सानलाई जोगाउने हो भने र अँझ उचाइमा पुर्याउने हो भने खड्का निर्मित संरचना बोल्नैपर्छ । जागरुक हुनैपर्छ । जसरी शेखर – गगन र सात भाइका संरचनाहरु बोलिरहेका छन् । एउटा जीवन शाहीले मात्र कालीकोटको रास्कोटमा बोले । त्यो बाहेक उहाँका सबै सहयोगीहरु आफ्नै मोजमस्ती र रामरमितामा देखिन्छन् । यिनिहरुलाई लागेको होला खड्कालाई सभापतिको रूपमा नाम लिदा कतै शेरबहादुर देउवा तर्किने हुन्की ? देउवालाई बिधानले रोकिसकेको स्पष्ट नै छ । तापनि खड्कालाई सभापतिमा उभ्याउन केको डर ? हेक्का रहोस् साथमा खड्का मात्रै नभएको भए यिनिहरु मट्टिको मट्टिमै हुन्थे । खड्काकै कारण पदीय दायित्वमा पुगेकाछन् । अन्तमा नुन बिर्सने घरिना र गुन बिर्सने मान्छेको भरमा कुनै सफलता हात लाग्दैन बरु धोका मिल्दछ ।
(लेखक नेपाली काँग्रेस महासमिति सदस्य हुनुहुन्छ)

