२५ जेठ, काठमाडौं । राजासंस्थाको पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन केही दिनको सडक आन्दोलनपछि सेलाएर गएपछि सो समितिलाई पुनर्गठन गरिने बुझिएको छ । वृद्ध नवराज सुवेदी नेतृत्वमा रहेको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने जानकारी समितिका प्रवक्ता स्वागत नेपालले बताएका छन् ।
‘नेपालका अनुसार कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु भएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्ने नेपालले बताए।
राजावादीको आन्दोलनमा प्रहरीले धरपटक गरेपछि त्यसपछि सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए ।
राजावादी एक पक्षका अनुसार थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप लगाएका छन् । स्वागत नेपालका अनुसार, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’
राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

