वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्वपति व्यवसायी एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् । अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो।’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ रु’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ।’
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो। टेक व्यवसायी मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ट्रम्पको विजय पश्चात उनी ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए l
अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ उत्रिएको बताउँदै, अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन्। पोडकास्टर थियो भोनसँग उनले भने, ‘ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो।’
त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न सक्दैन थिए समेत भने। साथै, ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत उनले लगाए। पछि त्यो पोस्ट हटाइयो l एपस्टीनका वकिलले पनि मस्कका आरोपहरू अस्वीकार गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मस्क ‘पागल’ भएको भन्दै प्रतिक्रिया दिएका छन्। एउटा पोस्टमा उनले मस्कका संघीय सरकारसँगका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिएका छन्।
ट्रम्पले शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपतिको कार्यालयप्रति मस्कले ‘सम्मान’ नदेखाएको आरोप लगाए। ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन्। तपाईं राष्ट्रपतिको कार्यालयप्रति असम्मान गर्न सक्नुहुन्न,’ ट्रम्पले भनेका थिए।
एजेन्सी

