Breaking News

दक्षिण कोरियाको राष्ट्रपतिमा वामपन्थी (डीपीके) का नेता ली जे–म्युङ विजयी

२१ जेठ, काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए।

पछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’

७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी

यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो ।

सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो।

यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।

एजेन्सी