काठमाडौं । राजावादीहरुले गएको जेठ १५ गतेबाट व्यवस्था परिवर्तनका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेर आन्दोलन गरेको आज तीन दिनभयो । आज राजावादीहरु अलि उग्रका साथै निषधित क्षेत्र तोड्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको छ।
जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गरेका हुन्।
आदेश अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो।
यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।
‘मिति २०८२–०२–१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ।
यस्तै कार्यालयसँग समन्वय हुने कार्यक्रमको हकमा भने तोकिए बमोजिम हुने उल्लेख छ।
प्रशासनले यसअघि स्थान तोकेर निषेधित क्षेत्र घोषणा गरेको थियो। तर यसपालि प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाका बाँकी स्थानमा प्रदर्शन गर्न निषेध गरेको हो।

