गएरातिको बर्षाका कारण सडक भत्किएपछि बर्दघाट–दाउन्ने खण्ड पूर्ण रूपमा बन्द भएको छ।
बुटवल–नारायणगढ सडकखण्ड बिस्तारका कारण प्रभावित बनिरहेको बर्दघाट–दाउन्ने खण्ड रातिदेखि भने पूर्णरुपमा अवरुद्ध भएको हो।
सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरूद्ध भएको छ। पश्चिमबाट पूर्व जाने सवारी साधन बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी साधन दुम्किबासतर्फ रोकिएका छन्।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकै सडकको डिल भत्किएको छ। दाउन्ने र बर्दघाट बजारको बीचमा पर्ने खुर्सने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाका अनुसार पानी परेपछि शुक्रवार राती करिब ११ बजेबाट उक्त सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो।
भत्किएर अवरुद्ध बनेको सडक खुलाउन आज शनिबार बिहानैदेखी प्रयास गरिए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ।
दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो। बिस्तारको क्रममा दायाँबायाँ भित्ता खनिएको कारण उक्त सडक घाम लाग्दा धुल्लाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ।
पानी पर्दा हिलाम्मे बनेको सडक चिप्लिएर पटकपटक यातायात बन्द हुने गरेको छ।

