२८ वैशाख, काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ ।
यस सम्बन्धी अध्ययन अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेका हुन् । अध्ययनको निष्कर्ष सन् २०२५ को मे ७ मा इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित छ ।
अध्ययनकर्तालाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, ‘भाइरस विकसित भइसकेको छ । यो चरादेखि बिरालासम्म अनि गाई र बिरालाबीच फैलिसकेको छ, जुन अब मानिसहरूमा सर्ने खतरा छ ।’
साथै बर्ड फ्लूको सबैभन्दा घातक प्रकार अत्यन्तै संक्रामक छ र घरमा पालेका बिरालाहरूमा देखिने ९० प्रतिशतभन्दा बढी संक्रमणमा मृत्युदर उच्च छ ।
अध्ययनकर्ताका अनुसार बिरालाहरू सिधै बर्डफ्लु संक्रमित चराहरू वा दूषित काँचो मासु (विशेषगरी कुखुरा) खाँदा संक्रमित हुन्छन् । साथै परोक्ष रूपमा अन्य स्तनधारीबाट पनि सर्न सक्छ । जस्तै, संक्रमित गाईको काँचो दूध खाँदा पालतु बिरालाहरूमा संक्रमण देखिएको छ । तर बिरालाहरूमा बर्ड फ्लूको सक्रिय निगरानी हुँदैन र परीक्षण गरिए पनि प्रायः मृत्युपछि मात्र गरिन्छ ।
बर्ड फ्लू बिरालाहरूका लागि अत्यन्त घातक भएको भनिए पनि बिरालाहरूबाट समुदायमा फैलावटको अवस्था पत्ता लगाउन भने आवश्यक रहेको अनुसन्धानकर्ताको जोड छ । मानिसहरूमा बर्ड फ्लूको असर अलिक कम घातक भए पनि हालसम्म विश्वभर ९५० संक्रमितमध्ये करिब आधाको मृत्यु भइसकेको बताइन्छ ।
अनुसन्धानकर्ताहरूले पशु आश्रयहरूमा बर्ड फ्लू प्रवेश गर्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन्, जसका कारण मानिसहरू समेत संलग्न हुने ठूलो स्तरको प्रकोप देखा पर्नसक्ने चेतावनी दिइएको छ । सन् २०१६ मा न्यूयोर्क सहरमा बर्ड फ्लूको एक भिन्न प्रकारले देखाएको असर भन्दा पनि गम्भीर अवस्था आउन सक्ने बताइएको छ ।
अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि भाइरस फैलिँदै र विकसित हुँदै जाँदा यो हावाबाट सजिलै मानिसमा सर्न सक्ने जोखिम हुनसक्छ ।
अन्त्यमा अध्ययनमा भनिएको छ– आगामी अध्ययनहरूमा सबैभन्दा जोखिममा रहेका बिरालाहरूको समुदायमा एचपीएआई (अत्यधिक रोगजन्य एवियन इन्फ्लुएन्जा) र अन्य इन्फ्लुएन्जा भाइरसहरूको प्रसार कत्तिको छ भन्ने पत्ता लगाउने अनुसन्धान गर्नुपर्ने छ । यो अध्ययन मानिसहरू र हाम्रो संवेदनशील पालतु बिरालाहरूलाई एच ५ एन १ को बढ्दो खतराबाट जोगाउने प्रयास हो ।

