Breaking News

मेडिकल माफिया विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

मेडिकल माफिया विशाल पण्डितविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ करोड ६४ लाख १३ हजार १२० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेश प्रदेश सरकारले मधेश प्रदेश निदान केन्द्र सञ्चालनका लागि स्वास्थ्य उपकरण खरिद गर्ने क्रममा अनियमितता गरेको अभियोगमा पण्डित र तत्कालीन प्रदेश सचिव इमनारायण श्रेष्ठसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेकामा मतियारका रूपमा हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक समेत रहेका पण्डितलाई मुख्य कसुरदारसरह नै १९ करोड ४६ लाख १३ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना मागदाबी गरी मुद्दा दायर भएको छ ।

निदान केन्द्र स्थापनाका लागि २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ रकम स्वीकृत भएकामा स्पष्ट आधार, कारण र औचित्यबिना कार्यक्रमअन्तर्गत ठेक्का टुक्राएर चारवटा मात्रै स्वास्थ्य परीक्षणसम्बन्धी उपकरण खरिद सम्झौता गरी त्यसलाई नै गैरकानुनी रूपमा अघि बढाएबाट कायम गरिएको बिगो रकम बराबरको हानिनोक्सानी पु¥याएको अभियोग अख्तियारको छ ।

यस अगाडि कोशी प्रादेशिक अस्पतालका लागि स्वास्थ्य उपकरण खरिद गर्दा पनि भ्रष्टाचार भएको आरोपमा पण्डितमाथि ३ करोड बिगोदाबी मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । स्वास्थ्य क्षेत्रमा मेडिकल माफियाको रुपमा चर्चित पण्डितले स्वास्थ्य मन्त्रालयमा सेटिङ गरेर १०औँ वर्षदेखि देशभरीका सरकारी अस्पतालहरूमा एकलौटी रुपमा मेडिकल उपकरण आपूर्ति गर्दै आएका थिए ।

बजार मूल्यभन्दा दशौँ गुणा महंगो स्वाथ्य उपकरण सरकारी अस्पताललाई भिडाएर अर्बौँ भ्रष्टाचार गर्दै आएका पण्डितविरुद्ध अख्तियारमा सयौँ उजुरी परे पनि अख्तियारले ति उजुरी तामेलीमा पठाउने गथ्र्यो । तर, अहिले अख्तियारले पण्डितविरुद्ध मुद्दा दायर गरेपछि स्वास्थ्यका कर्मचारीहरू र मेडिकल माफियाहरू तर्सिन थालेका छन् ।