दश अर्ब कहाँ खर्च, कहाँ गयो ? प्रधानमन्त्रीबाट जवाफ चाहियो ?

‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एकेक हिसाब चाहिन्छ

२७ जेठ, काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले दश अर्ब कहाँ खर्च कहाँ गयो ? प्रधानमन्त्रीबाट जवाफ चाहिने बताए ।

हिजो मात्रै काँग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको निर्णय गरेको थियो ।

सांसद थापाले संसदमा बोल्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा समय पर्याप्त हुँदाहुँदै सरकारले प्रभावकारी काम नगर्दा मृत्यु हुने र संक्रमित संख्या वृद्धि भइरहेको बताए ।

‘दश अर्ब कहाँ खर्च भयो ? हामीलाई जवाफ चाहिन्छ । पाँच पिसिआर मेशीन किन्ने, २५ हजार किट किनेर दश अर्बको हिसाबकिताब देखाउनु पर्दैन ? एकेक हिसाब चाहिन्छ,’ उनले भने, ‘सरकारलाई अब सुतेर बस्न दिँदैनौं । सरकारले हालै कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च भइसकेको बताएको थियो ।

कोरोनाबाट मात्र नभई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुनेको जिम्मा कसले लिन्छ भन्ने प्रश्न सांसद थापाले उठाएका छन् ।

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकायलगायतको जिम्मा कसले लिन्छ ?’ उनले प्रश्न समेत गरे र

माघ २१ गतेदेखि कोरोनाबारे सरकारलाई सदनमार्फत् ध्यानाकर्षण गराए पनि तयारी नगर्दा संक्रमित र मृतक संख्या बढिरहेको उनले बताए ।

‘धेरैले सरकारलाई सुझाव दिए । न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले सुनेन । नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था ? दोष कसको ? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो ? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको । सरकारको अकर्मन्यताले रोकेको । असक्षमताले रोकेको हो । यो सरकारले कोरोना लडाइँबाट पार लगाउन नसक्ने उनले बताए ।

‘अब सहयोग गर्छौं भनेर बस्दैनौं, उत्तर चाहिन्छ । दश अरब कहाँ खर्च भयो ? हामीलाई एकएक हिसाव चाहिन्छ, सांसद थापाले भने ।

क्वारेन्टाइन भद्रगोल भएको भन्दै उनले प्रश्न गरे, ‘यो क्वारेन्टाइन हो कि कन्सन्ट्रेसन क्याम्प हो ? सरकारले पछिल्लो समय परीक्षण दायरा साँघुरो बनाएकोमा थापाले आपत्ति प्रकट गरे । अब टेष्ट गर्न बन्द गरिदिने कोरोना फ्रि देश भनिदिने ।

सांसद थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने पनि उल्लेख गरे । यी सबै प्रश्नका जवाफ उपप्रधानमन्त्रीले दिनुपर्ने त्यसमा चित्त नबुझे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘अब बोलेर थपक्क बस्ने दिन गए,’ ‘एककेक कुराको हिसाब चाहिन्छ । सरकारलाई अब सुतेर बस्न दिँदैनौं । काँग्रेस यस बारेमा सदनमा बोलिरहेने र घच्घचाई रहेने समेत बताए ।