न्यूरोडमा व्यापारी र प्रहरीबीच घम्साघम्सी

प्रमुख जिल्ला अधिकारीहरु सँगको छलफलमा पसल खोल्ने सहमति भएपनि आज प्रहरीले एकाएक बन्द गर्न लगायो –नरेश कटुवाल अध्यक्ष ने.रा.व्य.म.

२७ काठमाडौं । लामो लकडाउनमा आजित भएका व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको
छ । आज मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरु सँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको समेत बताए ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो । र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो निर्णयपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै पसल बन्द गराएकाछन् ।