रिर्पोट नेगेटिभ आएपछि दैलेखका एक हजार जनालाई क्वारेन्टाइनबाट घर पठाइएयो

२६ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको बेला दैलेखको महाबु गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक हजार जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

भारतबाट आएर १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना संक्रमण छ वा छैन भन्ने किटान गरी घर पठाउनुपर्नेमा उनीहरुलाई आरडीटी विधिबाट मात्र परीक्षण गरेर घर पठाइएको हो ।

नेपालमै आरडीटी विधिबाट गरिएको परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएका कतिपय व्यक्तिमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैले कोरोना परीक्षण पुष्टि गर्न पीसीआर विधि नै विकल्प भए पनि क्वारेन्टिनमा राख्ने ठाउँ नभएको, पीसीआर परीक्षणको रिपोर्ट समयमा नआउने आदि कारणले स्थानीय जनप्रतिनिधिले ििपरवारका मानिसहरुलाई रोहबरमा राखी क्वारेन्टिन बसेकाहरुलाई घर पठाइरहेका छन् ।

गाउँपालिकाले जेठ २१ देखि २५ गते सम्म क्वारेन्टिनमा आएका १ हजार ७६ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ७६ जनामा कोरोना एन्टीबडी पोजेटिभ आएको थियो भने अरुको नेगेटिभ आएको थियो ।

पोजेटिभ आएकाहरुलाई क्वारेन्टिनमै राखेर नेगेटिभ आएकाहरुलाई वडा अध्यक्ष, गाउँपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र परिवारको एक जना सदस्यको रोहबरमा दश दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब रमेशकुमार दशौदीले जानकारी दिएका छन् ।

गाउँपालिकाले गत जेठ १५ गते ५ सय ९२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि सुर्खेतस्थित प्रयोगशालामा पठाएको थियो । उनीहरुको जेठ २४ गतेमात्र रिपोर्ट आयो ।

पीसीआर परीक्षणका लागि पठाएको स्वाबको समयमै रिपोर्ट नआएपछि आरडीटी विधिकै परीक्षण गरेर घर पठाइएको अहेब दशौदीले जानकारी दिएका छन् ।