Breaking News

हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पायो

१६ चैत, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् ।

पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ ।

उनले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको प्रदर्शनमा ठूलो सहभागिता रहे पनि शान्त र सन्देशमूलक भएको तर राजावादीको आन्दोलन हिंसात्मक र अराजक भएकोले बताउँदै उनले राजतन्त्र र गणतन्त्रको फरक छुट्टिएको उल्लेख गरेका छन् ।

‘एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरुको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो’, उनले अघि लेखेका छन्, ‘व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरु आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ । त्यसमा राजावादीहरु पूर्णतःअसफल भए । बरु उल्टै उनीहरुका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन वेहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो ।’

उनले शुक्रबार राजावादीहरुको आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यकातर्फबाट सम्बोधन गर्न माग पनि गरेका छन् ।

जनतालाई आतंकित बनाउने अपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कानुनी दायरामा ल्याउन महासचिव पोख्रेलले माग गरेका छन् ।