अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने मान्यता फौज्दारी विधिशास्त्रमा रहेतापनि कुनै व्यक्ति सहकारी ठगी गरेर मर्यो भने बिगो के होला भन्ने जिज्ञासा रहिरहनु अस्वाभाविक होइन ।
ठगी गरेर कुनै व्यक्ति मर्यो भने पनि बिगोचाहिँ घरपरिवार, श्रीमति र सम्पत्ति खाने छोराछोरीले ब्यहोर्नुपर्ने सिद्धान्त हालै काठमाण्डौं जिल्ला अदालतले एउटा सहकारी ठगीको मुद्दामा कायम गरेको छ ।
न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले क्षेत्रपाटीस्थित हितकारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा भएको करोडौं रकम अपचलनको मुद्दामा ठगी भएको रकम मरिसकेका पूर्व सञ्चालककी श्रीमति र छोराछोरीले ब्यहोर्नुपर्ने गरी फैसला गरेको छ ।
पाँचबर्ष चलेर जेठ १६ गते आएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको जानकारी दिंदै सो मुद्दामा सहकारीको तर्फबाट बहस गरेका अधिवक्ता अनन्तराज लुईंटेलले जसले रकम मस्यौट गर्यो उसैले तिर्नुपर्ने (डिफल्टर्स निड टु पे) को सिद्धान्त कायम भएको जानकारी दिए ।
सो मुद्दामा सहकारीको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दी, अधिवक्ताहरु लुईंटेल, कृष्ण पोखरेल, विकास भट्टराई, प्रतिभा उप्रेती, विशाल थापालगायतले बहसका क्रममा क्षति गर्नेले क्षति ब्यहोर्नुपर्ने तर्क गरेका थिए ।
सानुराजा मघैयासमेत करिब सयजनाको जाहेरीले उक्त सहकारीका हालसम्मका सम्पूर्ण सञ्चालक विपक्षी भई चलेको ०७६ सीवान ०३३७ को मुद्दामा अदालतले पूर्व सञ्चालक अध्यक्षहरु स्वर्गीय गौरीप्रसाद श्रेष्ठ र लालबहादुर श्रेष्ठलाई दोषी ठहर गरी उनीहरुकै घरघरानाबाट अपचलन रकम असुलेर डिपोजिटरलाई फिर्ता गराउन आदेश दिएको हो । गौरीप्रसाद श्रेष्ठको मृत्यु भएपश्चात् समेत उनलाई विपक्षी कायम गरी मुद्दा चलाइएको थियो ।
जिल्ला अदालतको ठगी मुद्दाको ठहर खण्डमा जाहेरवालाको बिगो तीन करोड अठहत्तर लाख बहत्तर हजार चार सय छयान्नब्बे रुपैयाँ बैसठ्ठी पैसा प्रतिवादी लालबहादुर श्रेष्ठ र प्रतिवादी गौरीप्रसाद श्रेष्ठका हकवालाबाट दामासाहीले जाहेरवालाहरुलाई भराईदिने भनिएको छ ।
जनआस्थाबाट