काठमाडौँ । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत भएको छ । बुधबार बसेको बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश पेस भएकामा सदनले स्वीकृत गरेको हो।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा सांसद चन्दा कार्कीले १२ जना सांसदको तर्फबाट उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेकी थिइन् । बैठकले उक्त प्रस्तावलाई समेत बहुमतले अस्वीकार गरेको छ । त्यसअघि उक्त अध्यादेशका विषयमा विरोधको सूचनाका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीमा रहँदैमा विरोधका लागि विरोध नगर्न आग्रह गरे ।

