Breaking News

अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई काठमाडौं ल्याईयो

२१ फागुन, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याएको खुलेको छ ।

काठमाडौं ओर्लिएपछि नेपाली अधिकारीहरूले गरेको सोधपुछका क्रममा उनीहरूले आफूहरूलाई हत्कडी लगाएर ल्याएको बताएका हुन् ।

‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो’, डिपोर्ट भएर फर्किएका एक नेपालीले भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौं पटक अनुरोध गर्नुपर्‍यो ।’

अधिकृतहरूका अनुसार, हिरासतमा रहेका बेला उनीहरूलाई आफैं स्वदेश फर्किने कि कानून अनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानून अनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको ती अधिकृतले बताए ।
अध्यागमन विभागले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरूसँग अहिले बयान लिइरहेको छ । उनीहरुलाई सामान्य सोधपुछ गरेपछि परिवारलाई बुझाइने बताइएको छ ।