– संकल्प निरौला
व्यक्तिको निजी जग्गामा शवदाह अर्थात् घाट निर्माणका लागि मेयरको ठाडो आदेशमा नगरपालिकाको ७२ लाख बजेट निकासा गरेको भन्दै एक कर्मचारीले अख्तियारमा उजुर हालेको खुलासा भएपछि मोरङको बेलबारी नगरपालिकामा भाँडभैलो मच्चिएको छ ।
निजी जग्गामा घाट निर्माणविरुद्ध दिइएको उजुरी ल्यापटपमा भेटिएपछि नगरपालिकाको गोपनीयता भंग गरेको आरोपमा प्रशासन शाखा प्रमुख महेन्द्र खड्कालाई जिम्मेवारीमुक्त गर्ने निर्णय भएसँगै भाँडभैलो मच्चिएको हो । घाटका लागि गैरकानुनी तरिकाले बजेट भुक्तानी गर्न खड्काले पहिलेदेखि नै असहमति जनाउँदै आएका थिए । नगर कार्यपालिका बैठकले अख्तियारमा उजुरी दिने खड्कालाई स्पष्टीकरण सोध्ने र सामान्य प्रक्रियासमेत पूरा नगरी ‘जिम्मेवारी मुक्त’ गरेपछि उपमेयर नितु थापा कोइराला पनि खुलेर विरोधमा उत्रिँदा मेयर दिलप्रसाद राईको निंदहराम भएको छ ।
अघिल्लो सोमबार बसेको १२७ औँ बैठकले खड्कालाई गोपनीयता भंग गरेको भन्दै जिम्मेवारीबाट हटाउने निर्णयसहित आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने निर्णय गरेको थियो । तर, सो बैठकमा बेलबारी उपप्रमुख नितु थापा (कोइराला), बेलबारी–८ का वडाध्यक्ष धनपति गौतम र कार्यपालिका सदस्य सञ्चमाया लिम्बू अनुपस्थित थिए ।
बैठकको निर्णयपछि मंगलवार प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले खड्कालाई जिम्मेवारीबाट मुक्त गरेको पत्र थमाएका छन् । पर्सिपल्ट बुधबार उपप्रमुख नितु थापा (कोइराला) ले कार्यकक्षमै पत्रकार सम्मेलन गर्दै नगर प्रमुख दिलप्रसाद राईले जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुपर्नेमा झन् झन् दूरी बढाउने काम कारबाही गरेको आरोप
लगाइन् ।
उपमेयरले बेलबारी १ मा निर्माणाधीन सिसौली पर्यटन क्षेत्रको कामका लागि नगरसभाबाट २० लाख मात्र विनियोजित भएकोमा नगरप्रमुख र आफूले समेत त्यति नै रकम भुक्तानी दिने भनी दिएको निर्देशन अटेर गर्दै असार अन्तिममा लेखा अधिकृत धनाकुमारी राईले ६० लाख भुक्तानी दिएको समेत दाबी गरेकी छन् । उता प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले कारबाही होइन सेफल्याण्डिङ गर्न तत्कालका लागि जिम्मेवारीविहीन बनाएको बताए ।
नगरपालिकासँगको साझेदारीमा घाट निर्माणका लागि कोशी प्रदेश सरकारले १ करोड ४० लाख बजेट विनियोजन गरेको थियोे । बेलबारी–७ स्थित लोहोन्द्रा खोला किनारमा घाट निर्माण गर्न भाष्कर कन्स्ट्रक्सनले लाख १ करोड ११ लाखमा ठेक्का लिएको छ, काम पनि नभएको होइन तर घाट निर्माण भएको जग्गा विदेशमा रहेका लक्ष्मी कार्कीको नाममा छ ।
निजी जग्गामा निर्माणाधीन घाट निर्माणका लागि बेलबारी नगरपालिकाले हालसम्म ७२ लाख २३ हजार २ सय ७२ रूपैयाँ भुक्तानी गरिसकेको छ । घाट निर्माण भइरहेको जग्गा हालसम्म व्यक्तिको नाममै रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा कार्कीले बताए । मेयर राई एमालेका हुन् भने खड्का पनि एमालेनिकट मानिन्छन् ।
जनआस्थाबाट