Breaking News

भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको हो – प्रचण्ड

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता प्रचण्डले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाएका छन् ।

प्रचण्डले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा आज बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको दाबी गरेका हुन् ।

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।

उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको बताए । यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको बताए ।