Breaking News

नारयणकाली श्रेष्ठ झनक्क झोकिएपछि

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अभियान झापाको कचनकवलमा विशेष समारोहको आयोजना गरेर थालेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अरु सबै नेता अभियानमा सहभागी थिए । माओवादीले यो अभियानलाई जनतासँग पुनः फर्कने अभियानको रुपमा लिएको छ । आजको अभियान उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकाएक रिसाएपछि केहीबेर नेताहरूबीच मुखामुख भएको थियो ।

सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम प्रस्तोतासँग सवालजवाफ गरेका थिए । कार्यक्रम प्रस्तोता थिए, माओवादी झापाका संयोजक राजु आचार्य, अग्नि थिए । वरिष्ठ नेता नारायणकाजीले सम्बोधन गर्दैगर्दा उनी पोडियम नजिकै उभिएका थिए । तर, श्रेष्ठले किन उभिएको ? भन्दै प्रश्न गरे ।

त्यही विषयमा अध्यक्ष प्रचण्ड बोल्ने क्रममा स्पष्टीकरण दिएका थिए ।

कचनकवलमा आयोजित खबरदारी सभामा माओवादी केन्द्रका सबै पदाधिकारीलाई बोल्न समय छुट्याइएको थियो । सचिव, उपमहासचिव, महासचिव, उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठको बोल्ने पालो आयो ।

उनी अध्यक्ष प्रचण्डको प्रशंसा गरिरहेका थिए । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिव्रता दिँदै अघि बढ्ने जिकिर गरिरहेका थिए ।

एक्कासी नजिकै उभिएका उद्घोषक आचार्यतिर हेरेर जंगिए ।

‘सक्नुस् भन्न आउनु भा हो ? हो ?,’ श्रेष्ठले सोधे ।

आचार्यको जवाफ थियो, ‘होइन ।’

लगत्तै नारायणकाजीले भने, ‘हो भने जान्छु ।’

आचार्यले फेरि भने, ‘होइन ।’

नारायणकाजी थप आक्रोशित हुँदै भने, ‘अनि के त, यहाँ टुक्क आएर बस्नुभयो । म बिदा होऔं ?’

मञ्चतिरबाट एक नेताले भने, ‘होइन, कमरेड बोल्नुस् ।’

त्यसपछि श्रेष्ठले भने, ‘समयको एकदम चाप छ । तर, म थोरै कुरा भन्न चाहन्थेँ । सायद, सञ्चालक कार्यक्रमलाई धेरै चाप भयो होला, म बिदा हुन्छु । लालसलाम ।’

नारायणकाजी रिसाएर फर्किएपछि बोलेका अध्यक्ष प्रचण्डले पनि यसबारे प्रष्टीकरण दिनुपर्‍यो ।

‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दैगर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो । उद्घोषक कमरेड‘। मेरो त ध्यान तपाईंहरूतिर थियो । म जनतातिर हेरिरहेको थिएँ,’ उनले भने ।

प्रचण्डका अनुसार उद्घोषण श्रेष्ठले आफ्नो गल्ती भए क्षमायाचना गर्ने बताइसकेका छन् ।

‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दैगर्दा तपाईंहरू बडो ध्यानपूर्वक सुनेको मैले महसुस गर्दै थिएँ । त्यही बेलामा अग्नी जी यहाँ आइपुग्नु भएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो,’ प्रचण्डले भनेका छन्, ‘यसमा अग्नि जीले अलिकति आत्मसमिक्षा गरेर यसमा मेरो गल्ती भए क्षमा चाहन्छु भनिसकेको हुनाले यसको मूल्याकंन, समीक्षा त गरौंला भने अध्यक्ष प्रचण्डले भनेका थिए।