Breaking News

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको को दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा आज बसेको थियो । आजको बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभनको अवस्था चलेको थियो ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले बोल्ने क्रममा केन्द्रीय सदस्य आरती लामाले अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आक्रोश व्यक्त गरेकस् थिइन ।

उनले भनिन्, ‘मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो ?’ आरतीले यसो भन्नासाथ ‘तपाईं चूप लाग्नु्’ भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट जुरुक्क उठे । उनी उठ्नासाथ आरतीको छेउमै रहेका महासचिव घनश्याम भुसाल नेपालतिर गएर उनलाई थुम्थुम्याउन थाले । तर, माधव आरतीको छेउमै गएर उनको प्रतिकार गर्न तम्सिरहेका थिए ।

भुसालसहित मञ्चमा रहेका अन्य पदाधिकारीले नेपाललाई रोके । नेपालले ‘चूप लाग्नुस्, चूप लाग्नुस्’ भनिरहे । आरतीले दोहोर्याई, तेहेर्याई भनिहे, ‘मैले बोल्न पाउनुपर्छ ।’

केन्द्रीय सदस्य लामाले पार्टी नेतृत्वको निरंकुशताको शिकार आफू भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएका थिए । ‘हामीले विधिका कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं’, लामाले भने, ‘आज विधि कहाँ गयो ? के यही हो विद्रोहको औचित्य ?’

अध्यक्ष नेपाललाई अन्य पदाधिकारीले थुम्थुम्याउँदा पनि उनी फेरि उठेर प्रतिकार गर्न तम्सिएपछि महासचिव भुसालले लामालाई ईशारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरे । लामा चाहिँ ‘मैले बोल्न पाउनैपर्छ’ भन्दै मञ्चबाट बाहिरिएकी थिइन ।