Breaking News

प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परे

प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्।

माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। आज दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले चिहाएर नियाल्दा भित्र परियार दम्पती लडेको अवस्थामा देखेपछि अरूलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई खबर भएको प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले बताए। घटना शंकास्पद रहेको प्रहरीले बतायो ।

मृतकका शरीर तथा टाउकोमा घाउ चोट देखिएको प्रहरीले बताएको छ।
डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएको खुलेको डिएसपी बस्यालले बताए।

प्रहरी निरीक्षक केशवराज केसीका अनुसार स्थानीयको सूचनाका आधारमा सुरूमा प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि डिएसपी बस्याल, प्रहरी निरीक्षक केसीसहितको प्रहरी पुगेको छ।