काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पद धरापमा परेको छ । भण्डारीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति विमति राखेसँगै मन्त्री भण्डारीको पद धरापमा परेको हो ।
‘आफै निर्णय गर्ने अनि त्यसको विपक्षमा उभिने भन्दै वक्तव्यबाजी गर्नु उचित होइन’, प्रधानमन्त्री केपी ओली निकट स्रोतले भन्यो, ‘बजार हल्लाका पछि लागेर निर्णय गर्दै जाने र सरकारमा पनि रहिरहन कुरा हुन सक्दैन ।’
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बालुवाटारमा आफू निकटस्थहरूसँग लोसपाले निर्णयमा पुनर्विचार नगरे मन्त्री शरतसिंह भण्डारीलाई हटाउनुपर्ने अवस्था समेत आउन सक्ने संकेत गरेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय भएको बताएका थिए ।

