गलकोट, बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता दिन थालेका छन्।
बचत पीडित सङ्घर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षेत्रका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको छ। सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले एक वर्षभित्र साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र गरेलगत्तै बचत रकम फिर्ता गर्न थालिएको सङ्घर्ष समितिका पश्चिम संयोजक मञ्जु शर्माले बताइन्।
१ लाख रुपैयाँसम्मका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको र आइतवार नै ढोरपाटन क्षेत्रमा ३७ लाख रुपैयाँको चेक ९२ जना बचतकर्तालाई फिर्ता गरिएको सङ्घर्ष समितिका पश्चिम संयोजक शर्माले जानकारी दिइन्।
गलकोट र ढोरपाटनका ५४७ बचतकर्तामध्ये १ लाख रुपैयाँसम्मका बचतकर्ताले रकम तत्काल प्राप्त गर्नेछन्।
इमेज बचत तथा ऋण सहकारी संस्थामा १ लाखसम्म बचत गरेका गलकोट र ढोरपाटनका बचतकर्ताले बचत रकम पाउन थालेपछि उनीहरुमा उत्साह छाएको छ।
बचतकर्ताको रकम फिर्ता गर्ने लिखित सहमतिपछि अदालतमा मिलापत्र थालिएको र हालसम्म ५४७ जना पीडित र सहकारीका अध्यक्ष नेपालीबीच मिलापत्र भइसकेको तथा अन्य १ हजार पीडितसँग मिलापत्र थालिएको इमेज बचत पीडित सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए।
१ लाख रुपैयाँसम्म बचत गर्ने ४८८ जना बचतकर्ता छन्। १ लाख रुपैयाँभन्दा बढी बचतकर्तालाई जग्गा दिने तयारी छ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सहकारीका ५४७ जनाको २३ करोड रुपैयाँ बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा १ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब १५ करोड रुपैयँ बचत रकमको मिलापत्र गरिने संयोजक कार्कीले बताए।
सहकारीको करिब २ अर्ब रुपैयाँ रकम हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो। बागलुङको सहकारीबाट १ अर्ब ३८ करोड रुपैयाँ र पोखरामा ६५ करोड रुपैयाँ रकम हिनामिना भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सहकारीको रकम अपचलन गरेको दावीसहित देवकुमारसहित ११ जनाविरूद्ध बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १ हजार ५४३ जनाको उजुरीका आधारमा अध्यक्ष नेपाली कारागारमा रहेका छन्।

