कालापानी लिम्पियाधुरा मात्र होइन नेपालमा धेरै ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ

२२ जेठ, झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ । मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा. राजकुमार पोखरेल बताउँछन् । झापामा मात्रै नौ सय ८८ वटा पिलर छन् ।

पूर्वका सीमाविद् डा. पोखरेलका अनुसार २०२२ सालमा नेपाल सरकारले झापाका वासिन्दाले जग्गा नापजाँच गरेर धनीपुर्जा दिएको हो । ०४५ सालदेखि नेपालको भूमिमा भारतीयले हस्तक्षेप गर्न थालेका हुन् । ‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भए । तर, परिवर्तन भएको जमिन उनीहरूले प्राप्त गर्न सकेका छैनन्,‘ डा. पोखरेलले भने ।

दुवै देशबीच ‘पछि मिलाउने हाललाई स्थानीय ती जमिनमा बस्दै गर्छन्’ भनिएका जमिन पनि भारतले आफ्नो पोल्टामा पारिसकेको छ । पछिल्लो समय त्यसरी नै नेपाली लालपुर्जा भएका जमिनमा भारतीयले खेती गर्ने गरेका छन् । त्यही खेतीका बहानामा सीमामा पटक–पटक भारतीय र नेपाली सुरक्षाकर्मीबीच झडप पनि भएको छ । झापा जिल्लाको १४४.२ किमि क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । यी स्थानका केही बासिन्दाले न आफ्नो भूमि भन्न पाएका छन् । न त आपत विपत पर्दा भूमिको उपयोग गर्ने अधिकार नै छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् । ।