नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । बैठकमा अधिकांंश केन्द्रीय सदस्यहरुले केही दिन अघि सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको छ।
बैठकमा बोल्दै सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रकाश शाह र झपट रावलले भीम रावल, पाण्डे र तिम्सिनाको कारबाहीको प्रसंग निकालेका थिए।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा झपट रावलले पूर्वउपाध्यक्ष रावललाई कारबाही गर्नु गलत भएको बताए।
‘भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्नु गलत भयो। पार्टीमा विधि र न्याय स्थापित हुन सकेको छैन, तानाशाही प्रवृत्ति हुर्कियो,’ जस्ता आवाज राखेका थिए ।
प्रकाश शाहले पनि रावल, पाण्डे र तिम्सिनामाथिको कारबाहीले विधिको उपहास भएको बताएका थिए।
पार्टीमा नेताहरूको चाकडी गर्नेले मात्रै जिम्मेवारी पाउने प्रवृत्ति बढेकोसमेत उनको भनाइ थियो।
आज २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
बैठक भोलि पनि चल्नेछ।