दैनिक २९ सय जनाको विदेशबाट उद्धार गरिने, पहिलो चरणमा भोलि यूएई र म्यानमारबाट १९४ जनाको उद्धार

२२ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन परेर बिदेशमा रोकिएका र आजन चाहनेहरलाई कोभिड–१९ दक्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) ले विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी तयारी पूरा गरेको छ । यसका लागि सीसीएमसी–अप्सले उपत्यकाका विभिन्न स्थानमा होल्डिङ सेन्टर तयार पारेको छ ।

यूएई र म्यानमारबाट पहिलो चरणमा शुक्रबार १९४ जनालाई उद्दार गरेर ल्याइँदैछ । उनीहरुलाई राख्न काठमाडौं, भक्तपुर र ललितपुरमा ९ वटा होल्डिङ सेन्टर तयार भएको  छ । प्रदेशगत रुपमा व्यवस्थापन गर्नु अघि कम्तिमा एक दिनसम्म राख्नलाई सेन्टर तयार गरिएको हो ।

सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक÷एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ । एक अधिकृतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ ।

काठमाडौंमा होल्डिङ सेन्टरका रुपमा सुकेधारामा मिराकल पार्टी प्यालेस, स्काई जोन पार्टी प्यालेस र बसुन्धारामा यति पार्टी प्यालेस र कुण्डलिनी पार्टी प्यालेसलाई तयार गरिएको छ । भक्तपुरको सूर्यविनायकमा इम्पेरियल पार्टी प्यालेस र ठिमीमा हेरिटेज पार्टी प्यालेस तयारी अवस्थामा राखिएको छ ।

ललितपुरको धोविघाटमा सिद्धार्थ कलेज, महालक्ष्मीस्थानमा डिलाइट पार्टी भेन्यू र खरिवोटमा मण्डला पार्टी भेन्यू तयार गरिएको छ । काठमाडौंको मिराकल र ललितपुरको सिद्धार्थ कलेजलाई रिजर्भका रुपमा तयार गरिएको जनाइएको छ ।

के हुन्छ होल्डिङ सेन्टरमा ?

विदेशमा अलपत्र नागरिकको उद्दार गर्ने सरकारी निर्णयपछि शुक्रबार पहिलो पटक यूएईबाट १६८ र म्यानमारबाट २६ नेपाली काठमाडौं आउनेछन् । नेपाली नागरिकलाई स्वेदश ल्याउने कार्ययोजना अनुसार उनीहरुको पहिल्यै व्यक्तिगत विवरण संकलन भइसकेको छ ।

विमानस्थलमा ओर्लिएपछि हवाई उडान अघि ७ दिनसम्म सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षण प्रमाण पत्रको चेकजाँच हुनेछ । त्यसपछि उद्दार गरिएका व्यक्तिलाई नेपाली सेनाले बसमा राखेर होल्डिङ सेन्टरसम्म पु¥याउनेछ ।

बसको व्यवस्थापन यातायात मन्त्रालयले गर्ने बताइए पनि हालसम्म तय भइसकेको छैन । यदी मन्त्रालयबाट प्राप्त नभए एयरलाइन्सकै बसमार्फत होल्डिङ सेन्टरसम्म उनीहरुलाई लगिनेछ ।

सेन्टरमा पुग्नेवित्तिकै स्वास्थ्य मन्त्रालयको टोलीले स्वास्थ्य जाँच गर्नेछ । र, कुनै समस्या पाइए सिधै आइसोलेसनमा पठाउने तयारी गरिएको छ । म्यानमारबाट आउने २६ जनासँग पीसीआर नेगेटिभ भएको रिपोर्ट छ, त्यसैले उनीहरुलाई सिधै होम क्वारेन्टाइनमा पठाउने तयारी छ ।

यूएईबाट आउने अधिकांशको कोरोना परीक्षण भइसकेको छैन । त्यसैले अवस्था अनुसार उनीहरुलाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राख्ने तयारी छ । र, होटल क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा त्यसका लागि पनि नेपाली सेनाले संयोजन गर्नेछ । क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।