Breaking News

आज उधौली पर्व प्रधानमन्त्रीले ओलीबाट शुभकामना

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा
मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भने, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्त्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी ९उँधो० झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताए ।