स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने निर्णय

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।

मन्त्रालयमा आज बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताए ।