चार वर्षअघि देशभरका मालपोत र यातायात कार्यालयमा थेगिनसक्नु भीड हुन्थ्यो । खुट्टा टेक्न समेत ठाउँ पाइदैँन्थ्यो । जग्गा किन्ने र बेच्नेको मालपोत कार्यालयमा ठेलमठेल हुन्थ्यो भने गाडी किन्ने र बेच्नेको यातायात कार्यालयमा निकै चाप हुन्थ्यो । त्यतिबेला मालपोत र यातायात कार्यालय वरपरका होटल, रेस्टुरेन्ट, किराना पसल, चिया पसल, फोटो स्टुडियोलगायतको राम्रो व्यापार चलेको छ । मालपोत र यातायातका कर्मचारीझैं उनीहरुलाई पनि भ्याईनभ्याई हुन्थ्यो । यता, यस्ता ठाउँमा कोठा, सटर र फ्ल्याट खाली पाइदैँन्थ्यो ।
यहाँका घरधनीहरुले एउटै कोठाको आठ हजारदेखि २५ हजारसम्म असुल्थे । एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि १९ लाखसम्म लिन्थे । खाली सटर त झन् २५ लाखदेखि ८० लाखसम्ममा बेचबिखन गर्थे । मालपोत र यातायात कार्यालय वरपरको घरजग्गा जति पनि मूल्यमा बिक्री हुन्थ्यो । आनाकै ५० लाखदेखि दुई करोडसम्म हालेर जग्गा किनिन्थ्यो । यी ठाउँको घरजग्गा किन्न जोकोही पनि तयार हुन्थे, त्यो पनि मुखबोली रेटमा । तर, केही वर्षयता मालपोत र यातायात कार्यालय सुनसान छ । जग्गा बेच्ने र किन्ने कोही छैन । यातायात कार्यालयमा पनि कोही जाँदैनन् ।
बजारमा घरजग्गा र गाडीको किनबेचमा मन्दी आउनेबित्तिकै मालपोत र यातायात कार्यालय वरपरका घरहरु धमाधम खाली हुन थालेका छन् । भाडा तिर्न नसकेपछि डेराबहालसहित व्यापारी तथा व्यवसायीहरु भटाभट सरिरहेका छन् । अहिले बजारमा घरजग्गा, गाडी किन्ने एक जना पनि भेटिदैँन ।
तर, बेच्ने पनि यत्तिकै छन् । दलालीहरुले हिजो रोपनीको पाँच–दश हजार रुपैयाँमा खेतीयोग्य जमिन किने । त्यसलाई खण्डीकरण वा डोजर चलाई टुक्राटुक्रा बनाएर आनाकै ६०–७० लाखमा बेचिदिए । सर्वसाधारणदेखि बैंक तथा वित्तिय संस्था समेतले छिट्टै नाफा कमाउने लोभमा आँखा चिम्लेर घरजग्गा, गाडीमा लगानी गरे । दुई रुपैयाँ किलोमा बिक्री नहुने फलाम र प्लास्टिक प्रयोग गरी छिमेकी मुलुक भारतसहित अन्य देशहरुले गाडी बनाए । त्यो गाडी यहाँका अटो शोरुमहरुले एक लाखदेखि पचास लाखसम्म तिरेर नेपाल भित्राए । तर, यहाँ भने पाँच लाखदेखि २५ करोडसम्ममा बेचे । उता, दलालीको लहैलहैमा लागेर बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर मानिसहरुले ३२ सय हालेर किने ।
अहिले त्यति महँगोमा सेयर किनेकाहरुको रुवाबासी चलेको छ । ३२ सयको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था आएपछि उनीहरुको लगानी बालुवामा पानी बराबर भएको छ । घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने सहकारी, लघुवित्त र फाइनान्स त भागिहाले । अब पालो बैंकको भनेर बजारमा बहस शुरु भएको छ ।
हुन त बैंक डुबिसकेको छ । तर, बैंकले यो कुरा बाहिर आउन दिएको छैन । बैंकबाट ऋण लिएकाहरुले हात उठाइसके । उनीहरुले धितो लिलाम गर्न भनिसके । यता, धितो लिलाम गरेपनि गरेको लगानी उठ्दैन । अर्कातिर, अहिले घरजग्गा, गाडी र सेयरको किनबेच पनि छैन । फेरि बैंकको पनि त यीनै क्षेत्रमा लगानी छ । त्यसैले, अब बैंक पनि सहकारीजस्तै छिट्टै टाट पल्टिने बताइन्छ । करोडौं मूल्य हालेर किनेको घरजग्गा अहिले लाखौंमा बिक्री नहुने परिस्थिति उत्पन्न भएको छ । यस्तै, गाडी र सेयरमा पनि उस्तै छ । जग्गा प्लाटिङ गर्ने दलाली र भूमाफियाहरु पनि नराम्ररी डुबेका छन् । कतिपय देशै छोडेर भागेका छन् भने कतिपय लुकिछिपी बसिरहेका छन् ।
अहिले बैंकमा कर्जा लिन जाने कोही छैन । बैंकले ब्याजदर घटाएको घट्यै छ । तैपनि, कर्जा लिने शून्यझैं छ । बैंकले राखेको धितोको पनि दिनप्रति दिन मूल्य घट्दो छ । बैंकले राखेको धितो बेच्दा ५० लाख रुपैयाँ आउँछ भने असुल्न दुई करोड छ । बैंकले अहिले डिपोजिटको पनि ब्याजदर घटाइरहेको छ । अब बैंकले घटाएको ब्याज समेत दिन सक्दैँन । किनकि बैंकको आम्दानी छैन । आम्दानी नभएपछि कसरी ब्याज दिओस् ? कसरी घरभाडा तिरोस् ? कसरी कर्मचारीलाई तलब दिओस् ? हुन त बैंकलाई ठग्नु ठगेको छ । एक करोडको धितो राखेर २५ लाख रुपैयाँ ऋण दिने । त्यसमा पनि पाँच लाख त घुसै खाने । १२ प्रतिशत ब्याज भनेर ४८ प्रतिशतसम्म असुल्ने । सेवाशुल्क दुई प्रतिशत लिने । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो लाखमा पचाइदिने । बैंकको यस्तो लुटधन्दाबारे ऋणी मात्र जानकार थिएन । तर, अहिले यो सबैले थाहा पाइसकेका छन् ।
पछिल्लो समय त बैंकबाट बचतकर्ता समेत पीडित भइरहेका छन् । बचतकर्ताको खाताबाटै रकम गायब भएको र त्यसमा बैंककै कर्मचारी संलग्न रहेको भेटिएको छ । सहकारी, लघुवित्त र फाइनान्सले त करोडौं बचतकर्ताको खर्बौ रकम खाइदिई हाल्यो । अब बैंकले कतिको रुवाबासी गराउने हो ! अहिले काठमाडौं उपत्यकाभित्रकै घरजग्गा किन्ने एक जना भेटिदैँन । उपत्यकाको त घरजग्गा बिक्री भइरहेको छैन भने बाहिरी जिल्लामा घरजग्गा कारोबार कस्तो होला ? त्यहाँ त झन् कसले नै घरजग्गा किन्ला ? घरजग्गा, गाडी र सेयर जोखिमपूर्ण छ ।
तर, यस क्षेत्रमा लगानी गर्नुपूर्व सोचविचार नगर्दा आज व्यक्तिदेखि बैंक, वित्तिय संस्थासमेत डुब्नु परेको छ । सरकारले २०२१ र ०३२ सालमा दुई पटक जग्गा नापजाँच गरी व्यक्तिलाई जग्गाको लालपूर्जा दियो । त्यसअघि मुलुकभरका जग्गा सरकारको थियो । जग्गामा उब्जनी गर्न पाइन्थ्यो तर त्यो जग्गा आफ्नो हुदैँन्थ्यो । त्यतिबेला जग्गा किनबेच पनि गर्न पाइदैँन्थ्यो । तर, सरकारले व्यक्तिलाई लालपूर्जा दिन थालेसँगै जग्गा बेचबिखन गर्न थालियो । ०३९ सालसम्म नेपाल सरकारले विदेशीलाई खाद्यान्न अनुदानमा दिन्थ्यो । ०४२ सालदेखि भूमाफियाहरुले जग्गा प्लाटिङ गर्न शुरु गरे ।
४० वर्षकै बीचमा नेपालको खेतीयोग्य जमिनदेखि डाँडाकाँडासम्म प्लाटिङ गरेर सिद्धाए । अहिले मुलुकमा भोकमारीको संकट निम्तिने देखिएको छ । किनकि अहिले हामी हरेक खाद्यान्न विदेशबाटै आयात गरिएको खान्छौं । नेपालमा उब्जनी गर्ने जमिन नै छैन ।
केही भएको जमिन पनि गाउँमा बाँझो छ । यसले विदेशीले खाद्यान्न नपठाउनेवित्तिकै यहाँ भोकमारी निम्तिने छ । यता, व्यक्ति, संघसंस्था, राज्यले आम्दानीको स्रोत मानेको घरजग्गा पाँच दशकअघिकै अवस्थामा फर्किएको छ । घरजग्गा किनबेच घट्दै गएको छ । जसका कारण यी क्षेत्रमा लगानी गर्नेहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी भनेझैं मानिसहरुले धेरै नाफा कमाउन घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए । तर, अहिले यो क्षेत्रमा मन्दी आउनासाथ साँबा नै डुबेको छ । यसले कुनै पनि क्षेत्रमा लगानी गर्नुपूर्व सोचविचार गरौं ।