Breaking News

रविजीको पक्राउलाई प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनं

जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको बताएका छन्।

‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनं,’ यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो,’ अध्यक्ष राउतले भनेका छन्।

पार्टीको धरातल, कैयन् एजेण्डा फरक भएको, कतिपय ठाउँमा रास्वपा र जनमत विपरीत धारमा पनि उभिँदाउभिँदै पनि लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा दुवै पार्टीको मतैक्यता रहेको उनले बताएका छन्।

‘आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ। पछिल्लो दशकमा सरकारद्वारा ऐन—कानूनको दुरुपयोगबाट सर्वाधिक दमनको शिकार भएको मान्छे म; दुई दर्जनभन्दा बढी पटक हिरासत÷जेल जानु परेको मान्छे म। यहाँको ऐनकानून नै त्यस्तै छ कि राज्यले चाहेमा सडकमा हिँडिरहेको होस् कि घरमै सुतिरहेको जोसुकै, जस्तोसुकै निर्दोषलाई समातेर २५–५० दिन त अनुसन्धानको नाममा त्यस्तै हिरासतमा राखिदिन सक्छ, र अदालतले पछि उनलाई जतिसुकै निर्दोष साबित गरे तापनि राज्यले कुनै माफी समेत माग्नु पर्दैन,’ उनले भनेका छन्।

राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्षनेताहरू ऐन—कानूनको दुरूपयोग गर्दै आएको पनि उनले बताएका छन्।

‘उनीहरूले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई तह लगाउन, आफ्नो पार्टीमा जबरजस्ती प्रवेश गराउन, अनुचित आर्थिक असुली गर्न त्यसको प्रयोग हतियारको रूपमा गर्दै आएका छन्। एउटा निमुखा, गरीब आम मानिसको त हत्या हुँदा समेत प्रहरीले ऊजुरी दर्ता गर्न मानिराखेको हुँदैन,’ उनको आरोप छ।

सहकारीको बचत अपचलनको अभियोगमा रास्वपा सभापति लामिछाने शुक्रबार पक्राउ परेका थिए। उनलाई शुक्रबार राति नै पोखरा लगिएको थियो। सडकमार्ग हुँदै पोखरा पु¥याइएको सभापति लामिछानेलाई बिहान ३ बजे हिरासतमा लिइएको थियो।

रास्वपाले पनि यस प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा लिएको छ।

अध्यक्ष सिके राउत