Breaking News

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित

२ कात्तिक, काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो ।  अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन र सैतेजा मुक्कामल्ला २ रन बनाए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे । करन केसी र आरिफ शेख शून्य रनमा आउट भए ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले समान एक/एक विकेट
लिए ।