अहिले बजारमा किनमेल गर्नेको संख्या केही बढेको छ । तर, व्यापारी तथा व्यवसायीहरुले व्यापार व्यवसाय गरेर आम्दानी गरेको पैसा बैंकमा जम्मा गरेका छैनन् । उनीहरु खुलेआम भन्छन्, ‘बैंकभन्दा घरमै रकमको सुरक्षा हुन्छ ।’ अधिकांश व्यापारी, व्यवसायीहरु बैंक पनि सहकारीकै अवस्थामा पुग्ने दाबी गर्छन् । किनकि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको भीषण बाढीपहिरोले बैंकमा धितो रहेको घरजग्गालगायत संरचना बगाएको छ । घर बाढीले लगेको छ त जग्गा बगरमा परिणत भएको छ । योसँगै सर्वोच्च अदालतले नदी, खोला वरपर घरलगायत कुनै पनि संरचना बनाउँदा ४० मिटर छोड्नुपर्ने फैसला गरेपछि पनि बैंकको लगानी डुबेको छ । बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर त हामी सबैलाई थाहै छ । तर, कस्ता घरजग्गामा लगानी छन् ? भनेर कसैलाई थाहा छैन । घुसको आडमा बैंकले सोच्दै नसोची सरकारको मापदण्डविपरीत बनेका घरजग्गामा पनि कर्जा प्रवाह गरेको छ । अब त्यस्ता संरचना सरकारले हटाए वा भत्काएपछि बैंक त चुलुम्मै हुनेछ ।
यति मात्र होइन, बैंकले सहकारी, लघुवित्त र फाइनान्सलाई पनि खर्बौ कर्जा प्रवाह गरेको थियो । तर, यी संस्था आज डुबेर भागिसकेका छन् । जसका कारण पनि बैंक संकटमा परेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मात्र बैंकबाट अर्बौ कर्जा लिएका छन् । यद्यपि, उनले वर्षौदेखि साँबाब्याज तिरेका छैनन् । उनी त एक उदाहरण मात्र हुन् । यस्ता कयौं व्यक्ति तथा व्यापारी छन्, जसले बैंकबाट अर्बदेखि खर्ब कर्जा लिएका छन् तर साँबाब्याज वर्षौदेखि तिरेका छैनन् । असोज ११ र १२ गते दुई दिनको मुसलधारे वर्षाका कारण आएको बाढीपहिरोले झण्डै २५ अर्बको क्षति भएको सरकारी तथ्यांक छ । यो त राज्यको सम्पत्तिको क्षति विवरण मात्र हो । यहाँ त बाढीपहिरोले हजारौं व्यक्तिको खर्बौको सम्पत्ति मासिएको छ ।
फेरि व्यक्तिहरु सबैको सम्पत्ति बैंकको नाममा छ । अनि धितो नै खोलाले बगाएपछि वा भत्काएपछि बैंकले अब के गर्छ ? कसरी ऋण असुल्छ ? धितो बगाएपछि ऋणीले कर्जा नतिर्ने त यकिन भइसक्यो । तर, बैंकले अब त्यस्तो कर्जा कसरी असुलउपर गर्छ ? नेपाल राष्ट्र बैंकले अहिलेसम्म बैंक तथा वित्तिय संस्थाको यति धितो बाढीपहिरोले बगायो वा भत्कायो भनेर तथ्यांक सार्वजनिक गरेको छैन ।
किनकि यो तथ्यांक सार्वजनिक गर्नासाथ बैंकमा बचत गर्नेहरु ह्वात्तै घट्ने छन् । र, अहिले बचत गर्नेहरुले पनि भटाभट रकम निकाल्ने छन् । घरजग्गामा मात्र होइन, जलविद्युत, कृषिमा पनि बैंककै लगानी छ । बाढीले जलविद्युतमा अर्बौको क्षति भएको सरकारकै तथ्यांंक छ । कृषिमा पनि त्यत्तिकै ठुलो क्षति भएको छ ।
अब यसको प्रभाव बैंकमा देखिने छ । किनकि बैंकको यी क्षेत्रमा पनि ठुलो लगानी छ । बाढीले जलविद्युत, हाइड्रोपावर वा बालीनाली मात्र बगाएको छैन । बैंकको लगानी बगाएको छ । ‘बालुवामा पानी’ भनेझैं अहिले बैंकको लगानी पनि पानीले बगेको छ । विगत चार वर्षदेखि घरजग्गा, गाडी र सेयर कारोबारमा मन्दी छ । त्यतिबेला करोड भनिएको घरजग्गा अहिले लाखमा बिक्री नहुने अवस्था निम्तिएको छ । सेयर त जुवा हो । यसमा ठुला लगानीकर्ताले कमाउँछन् त साना डुबाउँछन् । यद्यपि, चार वर्षअघि ३२ सय कित्तामा बिक्री हुने सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएको छ । जग्गा प्लाटिङ गर्नेहरु देशै छोडेर भागिसकेका छन् । लगानी डुबेपछि कतिपय सम्पर्कविहीन भएका छन् ।
त्यस्तै, अटो व्यवसायीहरु पनि डुबिसकेका छन् । नाफा कमाउन उपयुक्त मानिएका सबै क्षेत्रमा मन्दी छ । सरकारले राजस्वको उत्तम स्रोत मानेको घरजग्गा, गाडी र सेयरबाट सरकार आफैं निराश हुदैँ गएको छ । अनि यस्तो अवस्थामा अब बैंकले कुन क्षेत्रमा लगानी गर्छ ? कुन क्षेत्रमा नाफा देख्छ बैंकले ? फेरि नाफा मात्र हेरेर मात्र पनि भएन जोखिम पनि हेर्नैपर्यो । नभए अहिले बाढीले धितो बगाएजस्तै हुनेछ ।
बैंकको अहिले आम्दानीको स्रोत छैन । तर, कर्मचारीलाई तलब दिनैपर्यो । कार्यालय खर्च जोहो गर्नेपर्यो । डिपोजिटलाई ब्याज र घरधनीलाई धाडा पनि त दिनुपर्यो । बत्ती, पानीलगायत अन्य खर्चको छुट्टै विवरण छ । अनि यत्रो खर्च अब बैंकले कसरी धान्छ ? अर्कोतर्फ, बैंकप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । बैंकका कर्मचारीहरुले बचतकर्ताको खाताबाटै रकम गायब बनाएपछि बैंक जनताबाट नाङ्गिएको हो ।
हुन त बैंकले ऋणीलाई ठग्नु ठगेको थियो । लुट्नु लुट्यो । त्यर्सैको फलस्वरुप आज यस्तो भएको पनि हुनसक्छ । हिजो घुस नखाई ऋण दिएन त आज कर्जा प्रवाह नभएर बैंक चिन्तित छ । ऋणीले तीन करोडको धितो राख्दा बैंकले एक करोड कर्जा प्रवाह गथ्र्यो । त्यो पनि दश लाख रुपैयाँ घुस खाएर । सेवाशुल्क दुई÷तीन प्रतिशत, ब्याज १४ देखि १८ प्रतिशत भनेर ७८ प्रतिशतसम्म असुल्थ्यो ।
अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै तीन करोडको धितो ९० लाखमा पचाउँथ्यो । आम सर्वसाधारणले थाहा पाइसके कि बैंक ठग, चोर हो । बैंकबाट ऋण लिनुहुदैँन भनेर आवाज उठ्न थालिसकेको छ । ‘भुँइको टिप्न जाँदा खल्तीको पनि हराउँछ’ भनेर बैंकबाट ऋण लिएमा आफ्नो भएको धेरथोर सम्पत्ति पनि गुमाइन्छ । बैंकले कतिपयको भविष्य पनि बनाएको होला । तर, बैंकबाट ऋण लिएका अधिकांश व्यक्ति ‘घर न घाट’ को भएका छन् । करोडपतिबाट उनीहरु सडकपति बनेका छन् । सुकुम्बासी अवस्थामा पुगेका छन् । अनि यत्रो जनतालाई यस्तो अवस्थामा पुर्याउने बैंक आफु भने कसरी सुखसँग बस्न सक्छ । ऋणीको आशु नै अहिले बैंकलाई लागेको हो ।
बैंकले ऋणीलाई मात्र होइन बचतकर्तालाई पनि सडकछाप बनाउने भएको छ । जनताले आफुसँग भएको रकम बैंकमा जम्मा गरे । तर, कहिल्यै बुझेनन् कि बैंकले कस्तो क्षेत्रमा आफुहरुको बचत लगानी गरेको छ ? यसलाई जनताको खेलाइँची भन्ने कि बैंकप्रतिको विश्वास यसतर्फ नजम । तर, आफुले बचत गरेको कुनै पनि संस्थाको लगानी कुन क्षेत्रमा छ भनेर बुझ्नु निक्षेपकर्ताको जिम्मेवारी हो ।
अझै पनि ढिलो भएको छैन । बचतकर्ताहरुले आफुले निक्षेप राखेको बैंकले लगानी कुन क्षेत्रमा छ ? र, त्यस्ता धितोको अवस्था कस्तो छ ? भनेर पनि अनुगमन वा नियमन गर्नुपर्छ । जग्गा दलालीहरुले निमुखा किसानसँग रोपनीको पाँच÷दश हजारमा जग्गा किनेर प्लाटिङ गरी आनाकै लाखौंमा बेचबिखन गरे । बैंकले नै सय रुपैयाँँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सय पुर्याए । गाडीको मूल्य पनि एकाएक बढाइयो । यसरी कृत्रिम रुपमा मूल्य बढाइएका क्षेत्रमा बैंकले नाफा कमाउने प्रलोभनमा आँखा चिम्लेर लगानी गर्यो । त्यसैले, अब बैंक संकटमा आएको हो । अहिले बैंकका सञ्चालक, अध्यक्षहरुलाई रातभर निन्द्रा लाग्दैंन । उनीहरु चिन्तित छन् । किनकि आफुहरु पनि सहकारीकै सञ्चालक, अध्यक्षको अवस्थामा पुगेको उनीहरुले बुझिसके ।