२८ असोज, मन्थली । दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।
चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।
उनले भने, ‘लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई/तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।’
उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताए ।
काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।
भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए ।
– राससबाट