Breaking News

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।

सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबिच सोमबार रातिसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ’ लामिछानेको भनाइ छ ।
मेलम्चीको पानी अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा आइसकेकाले काठमाडौँ उपत्यकावासीका धारा धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।