Breaking News

चाडबाडमा पनि सर्वसाधारणलाई छैन सुख, कतै ठगिदैँ त कतै सास्ती खेप्दै !

नेपाली समाजमा एउटा चर्चित उखान छ, ‘काम गर्ने कालो, मकै खाने भालु’ । यो ऊखान सर्वसाधारणको जीवनसँग मेल खान्छ । हामी कर तिछौं, तर सेवासुविधा चाँहि कर्मचारी र जनप्रतिनिधिहरुले मात्र पाउँछन् । नेपालीजनको महान् चाड बडा दशैँको आगमनसँगै अहिले गाउँघर फर्किनेहरु बढ्दो छन् । दिनहुँ हजारौंको संख्यामा सर्वसाधारण आफ्नो गाउँघर गइरहेका छन् । तर, उनीहरुले गाउँ फर्किँदा समेत सुख पाएका छन् । जनता नठगिएको कुनै ठाउँ छैन । बाढीपहिरोका कारण देशभरका अधिकांश ठाउँमा सडकको अवस्था दयनीय भएको छ । तैपनि यातायात व्यवसायीहरु गाडीमा यात्रु झुण्डाएर यात्रा गराइरहेका छन् । यति मात्र नभई यात्रुहरु बढी भाडा तिर्न बाध्य भएका छन् । यता, सडक अवस्थाको फाइदा उठाएर दशैँको मौकामा हवाई कम्पनीहरुको ठगीधन्दा पनि बढेको छ ।

एयरलाइन्सहरुले यात्रुसँग तोकिएकोभन्दा दोब्बर भाडा लिएको गुनासो बढ्दो छ । सरकारले दशैँलाई लक्षित गरेर केही दिनअघिबाट देशभर रोड परमिट खुला गरिसकेको छ । रोड परमिट खुला भएसँगै अहिले काठमाडौं उपत्यकामा गाडी पाउन मुस्किल हुन थालेको छ । गाडी अभावका कारण दशैँको किनमेलका लागि बजार जान समेत उपत्यकाबासीलाई सास्ती भइरहेको छ । हामी कर तिर्ने सर्वसाधारण अहिले विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । दशैँजस्तो महान पर्व घर आँगनमै आइसक्दा पनि सरकारी पक्षले सर्वसाधारणको हितका लागि केही गरेको देखिदैँन । उल्टै सरकारी कर्मचारी र जनप्रतिनिधिहरु मोजमस्ती गर्न व्यस्त छन् । कर्मचारीहरुको दशैँ बिदा शुरु भइसकेको छ । यो अवधिमा उनीहरु एउटा पनि काम गर्दैनन् ।

काम नगरेपछि सरकारी गाडी प्रयोग गर्ने पनि कुनै हकअधिकार हुदैँन । यद्यपि, अहिले कर्मचारीहरु सरकारी गाडीमै आफ्नो गाउँघर गएको पाइन्छ । जनताले तिरेको करबाट नपुगेर सरकारले विदेशीसँग समेत ऋण लिएर कर्मचारीलाई तलबभत्ता, दशैँ पेश्की दिदैँ आएको छ । उनीहरुका लागि लाखदेखि करोडौंको गाडी किनिदिएको छ । उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था मिलाइएको छ, त्यो पनि निःशुल्क ।
कर्मचारीले लगाउने पोशाक पनि सर्वसाधारणले तिरेको करबाट किनिएको हो । यतिसम्म कि उनीहरु चढ्ने गाडीको इन्धन पनि हामीले नै तिरेको करबाट हालिन्छ । फेरि कर्मचारीहरु हामी आम सर्वसाधारणकै काम गर्दैनन् । हामीसँगै घुस माग्छन्, ससानो कामका निम्ति । पाँच मिनेटमा हुने काम पाँच वर्ष लगाइदिन्छन् । घुस पायो भने फेरि दुई मिनेट पनि लगाउँदैनन् ।

निजी संघसंस्था, कम्पनी, होटल, रेस्टुरेस्टु, फर्म, पसल वा घरायसी काम गर्नेहरुले तलब नै पाएका छैनन् । मासिक पाँच हजारदेखि दश हजार तलबमा काम गरेपनि उनीहरु दशैँको मुखमा तलबविहीन भएका छन् । अब के गर्ने ? भनेर उनीहरु अन्योलमा छन् । किनकि गाउँघर फर्किन समेत उनीहरुसँग पैसा छैन । सर्वसाधारणले दुःखसुखमा काम लाग्छ भनेर खाइनखाई सहकारी, लघुवित्त र फाइनान्समा बचत गरेका थिए । तर, यी संस्थाहरु करोडौं बचतकर्ताको खर्बौ रकम खाएर भागेको छ । अहिले बैंकले पनि सहकारीजस्तो पारा देखाइसकेको आम नागरिक बताउँछन् । उनीहरु भन्छन्, ‘पाँच लाखको चेक लिएर गएमा दुई÷तीन चोटी गरेर लिएर जानुस् भनेर बैंकका कर्मचारी अनुरोध गर्छन् । हिजो सहकारी भाग्दा पनि अगाडि यस्तै्र गरिएको थियो ।’

केही दिनअघि अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट झण्डै साढे दुई सयको ज्यान गएको छ । सयौं बेपत्ता र घाइते भएका छन् भने हजारौं विस्थापित छन् । बाढीपहिरोका कारण खर्बौको भौतिक क्षति भएको छ । मुलुक यस्तो अवस्थाबाट गुज्रिँदा सरकारी कर्मचारीलाई केहीको पनि चिन्ता छैन । अहिले पनि कर्मचारीहरु सरकारी गाडी लिएर सपरिवारसहित घुमफिर गर्न निस्किरहेका देखिन्छन् ।
हाल सरकारी सेवामा कार्यरत बहालवाला वा सेवा निवृत्त सम्पूर्ण कर्मचारीको सम्पत्ति छानबिन गरेर उनीहरु सबै घुसिया छन् भनेर प्रमाणित हुने छ । किनकि हरेक कर्मचारीले जग्गा किनेर घर बनाएका छन् । महँगा गाडी किनेका छन् । छोराछोरी महँगा स्कुलमा पढाएका छन् भने मिठोमिठो खानेकुरा खान्छन् । अनि एउटा कर्मचारीको साधारण तलबले घर बनाउनु कि छोराछोरी पढाउनु कि घर खर्च धान्नु कि जग्गा किन्नु ?
हुन त यहाँ कर्मचारी, जनप्रतिनिधि र नेता घुस खाने अनि व्यापारी राजस्व छल्ने हो । राजनीतिक दलका नेताहरु भ्रष्टाचार गर्नुहुन्न भन्छन् । तर, उनीहरुकै खर्बौको सम्पत्ति छ । रोपनी रोपनी जग्गामा दरबारजस्तो घर बनाइएको छ । हातमा लाखौंको घडी लगाउँछन् । कपडा दिनहुँ फेर्छन् । अनि यत्रो पैसा कसरी आउँछ ? भ्रष्टाचार नगरी यत्रो सम्पत्ति जोड्न सकिन्छ ? यस्तो लाइफ स्ट्याल जिउन सकिन्छ ?

रास्वपा सभापति रवि लामिछाने पहिला सञ्चारकर्मी हुँदा भन्थे, ‘भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्नुपर्छ ।’ अहिले उनी आफैंले हजारौं बचतकर्ताको ६५ करोड बढी रकम झवाम बनाएको पुष्टि भइसकेको छ । उनले नेताको नाकको डाँडी भाँच्नुको साटो जनताले आफ्नो ढाँड भाँचेर कमाएको पैसा चाँहि पचाइदिएका छन् । यतिमात्र नभई एउटा गरिब परिवारका पत्रकार शालिग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाए । हाम्रो देशमा नेताहरु भ्रष्टाचारी मात्र नभई मानव तस्कर पनि छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करीको आरोप लागेकी नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवा यतिबेला परराष्ट्रमन्त्री छिन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गर्ने विष्णु पौडेल वर्तमान सरकारमा अर्थमन्त्री छन् । प्रधानमन्त्री केपीशर्मा ओलीमाथि नै सरकारी, सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको आरोप छ । उनले झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा मन्त्रिपरिषद्मार्फत नै व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेको आरोप छ । अहिले बाटोमा ट्राफिक प्रहरी धेरै नै देखिन्छन् । तर, उनीहरु गाडीको अनुगमन गर्दैनन् । न निजी प्लेटको सवारीसाधनको चेकजाँच गर्छन् न सार्वजनिक यातायातको । सहचालक, चालकले यात्रुसँग बढी भाडा लिएपनि ट्राफिक प्रहरी बोल्दैनन् । गाडीमा अट्नै नसक्ने गरी यात्रु हालिएपनि ट्राफिक नदेखेझैं गर्छ । ट्राफिकको एउटै काम छ, त्यो भनेको बाटोमा उभिएर घाम ताप्ने वा गफ हाँक्ने ।

ट्राफिकहरु पनि जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, पोशाक लगाउँछन् तर काम चाँहि गर्दैनन् । यता, सर्वसाधारणहरु आफ्नै पारामा छन् । कोही खाना नपाएर भौतारिएका छन् त कोही आफुजस्तो धनी अरु कोही छैन भनेर घमण्ड गरेर हिँडिरहेका छन् । कोही भने आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया छन् भन्दै धाक देखाउँछन् । यहाँ देशको चिन्ता कसैलाई छैन । सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो ।
यद्यपि, दशैँ नेपालीहरुको महत्त्वपूर्ण चाड रहेकाले सरकारले आफ्नो गाउँघर फर्किने जनतालाई ठगिनबाट जोगाउनुपर्छ । यसतर्फ सरकारी निकायको ज्यान जाओस् । दशैँमा कोही पनि ठगिएको नसुनियोस् ।

रुषा थापा