Breaking News

शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ

११ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई आज सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् । संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उनले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी गराए ।

‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसासमेत गरे ।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गरे । भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको भन्दै ओलीले भने, ‘सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको छ, आणविक युद्धको भय समाप्त भएको छैन ।

विश्व शान्ति कायम गर्न र धनी–गरिब देशबीचको विभेद हटाउन आवश्यक रहकामा जोड दिए । तीन सय वर्षको औद्योगिकीकरण र आधुनिकीकरण यात्रापछि पनि गरिबी र अभाव अतिकम विकसित देशहरूमा व्यापक रहेको उल्लेख गर्दै उनले धनी देशहरुले गरिब देशलाई अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘सामूहिक इच्छाशक्ति र एकीकृत कार्यद्वारा मात्र हामी यो प्रवृत्तिलाई उल्टाउन सक्छौँ र सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सक्छौँ ।’

नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको ‘कसैलाई पछाडि नछाडिने’ सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै प्रधानमन्त्री ओलीले यो नेपालको संविधानमा समाहित रहेको जानकारी गराए । यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राखेको उनले बताए ।

‘सर्वसमावेशी लोकतन्त्रमा मेरो दृढविश्वास छ, यसलाई नै मूलमन्त्र मानेर देशको नेतृत्व गर्ने मेरो संकल्प छ,’ प्रधानमन्त्री ओलीले भने, ‘समान अधिकार, अवसरमा समान पहुँच, सामाजिक न्याय सुनिश्चित गर्ने, कमजोर समुदायहरूको संरक्षण, सबैका लागि सुरक्षा र मर्यादा कायम गर्नु लोकतान्त्रिक राज्यको दायित्व हो ।

नेपाल सरकार समावेशी र न्यायपूर्ण समृद्धि तथा आर्थिक रूपान्तरणलाई गति दिन दृढ रहेको जानकारी गराउँदै ओलीले भने, ‘हामीले हाम्रो राष्ट्रिय आकांक्षा समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न आफूलाई समर्पित गरेका छौं ।’

प्रधानमन्त्री केपी शर्मा आली