फेरि हुुकुम भयो म सुत्न लागेको छु है । म भोलि बिहान फोन गर्छु, गुडनाइट

मोबाइलमा फोन गरिबक्सेको थियो । मेरो मोबाइलमा (रुँदै…) मोबाइल क्लियर आइराखेको थिएन । सरकार मैले कुरा बुझिनँ भनें । फेरि सोधिबक्स्यो । म जवाफ दिनुभन्दा अगाडि फोन राख्दिबक्स्यो । त्यसपछि मैले सरकारको मोबाइलमा फोन लगाएँ, घण्टी गयो । गयो, गयो, गयो सरकारले फोन उठाइबक्सेन ।

 १९ जेठ, काठमाण्डौ । सन्दर्भः राजदरबार हत्याकाण्ड १९ जेठ २०५८ । आज ठीक दरबार हत्या काण्डको १९ वर्ष बितेछ ।

‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटनासम्बन्धमा गठित उच्चस्तरीय समिति’का लागि भारतका लागि तत्कालीन राजदूत भेषबहादुर थापाले देवयानी राज्यलक्ष्मी राणासँग नयाँ दिल्लीमा लिएको बयान ।

देवयानी राज्यलक्ष्मी राणा

२०५८–२–३० अहिले भर्खरै २ः०० बजेतिर शाही नेपाली राजदूतावास दिल्लीबाट सिलबन्द एउटा खाम प्राप्त भएको छ र यसमा के लेखिएको छ भने ‘मेरो जिम्मामा रहेको र सिलबन्दी गरी पठाएको’ सही गर्ने भेषबहादुर थापा शाही नेपाली राजदूत छाप सहित र यो लाहाछापबाट सिलबन्दी गरिएको, यो खोलौं है । भारतको लागि शाही नेपाली राजदूत भेषबहादुर थापाले पठाउनुभएको यो पुलिन्दा खोलेर हेर्दा यसमा एउटा टेपरेकर्ड क्यासेट चक्का प्राप्त भयो । यो पुलिन्दा हामीले समितिका अध्यक्ष सम्माननीय प्रधानन्यायाधीशज्यू र हाम्रा अन्य कर्मचारीहरूको रोहवरमा
खोल्यौं । र यसलाई हामीले अब अध्ययन गर्ने क्रम शुरू भयो ।

१९ गते राजदरबारमा घटेको घटनाका सम्बन्धमा हामीले बुझ्नुपर्ने देखिएकी देवयानी राणा हाल प्रवास भारतमा रहेको बुझिएको र देवयानीका मातापितालाई बुझ्दा उनले यस सम्बन्धमा आफूलाई थाहा भएको कुरा भन्न सक्ने स्थिति देखिएको तर तत्काल नेपाल आउन सक्ने परिस्थिति नभएको भन्ने बताएपछि हामीले बुझ्नका लागि शाही नेपाली राजदूत भेषबहादुर थापालाई फोनद्वारा अधिकृत गरे अनुसार राजदूत थापाले यो टेपरिकर्ड उपलब्ध गराउनुभएको हो । उतार यसप्रकार छः

नयाँदिल्ली २०५८ साल जेष्ठ २९ गते बेलुका ८ः१५ बजे नयाँदिल्लीमा म भेषबहादुर थापा शाही नेपाली राजदूत, नयाँदिल्ली, तपाईं देवयानी राणासँग आजको दिनमा अहिले तपाईंले आफ्नो नाम र परिचय दिन हुन अनुरोध गर्दछु ।

देवयानीः देवयानी राज्यलक्ष्मी राणा ।

डा. भेषबहादुर थापा (शाही नेपाली राजदूत): आज श्री मोहनबहादुर सिलवाल, काउन्सेलर, शाही नेपाली दूतावासको रोहवरमा र डाक्टर जैन :

I would like to indentifing yourself .

डाक्टर जैन : Doctor S.K. Jain.

राजदूतः जसको रेखदेखमा सुश्री देवयानी राणा औषधि उपचार गर्न यहाँ हुनुहुन्छ । तपाईंसँग, यही जेठ १९ गते शुक्रवार राति नेपालमा राजदरबारमा घटेको घटना सम्बन्धमा केही प्रश्न गर्छु । यसको लागि गठित आयोगको निर्देशनमा म केही प्रश्नहरू सोध्न गएको छु । आफूले जान्नुभएको सबै कुराहरू राम्रोसँग भनिदिनुहुन अनुरोध
छ । अहिले दिल्लीमा तपाईं के कारणले आउनुभएको र के गर्दै हुनुहुन्छ ?

देवयानीः मलाई सञ्चो भएको छैन । अनि डाक्टर सावले (रुँदै) … ट्रिटमेन्ट ….

राजदूतः माथि अघि उल्लिखित गरेको घटना बारे तपाईंलाई के जानकारी छ ?

देवयानीः मलाई अरू यसको जानकारी छैन । थाहा पनि छैन । हुनसक्छ भनेर सोचेको पनि थिएन ।

राजदूतः तपाईं र तत्कालीन श्री ५ युवराजाधिराजको बीच सम्बन्ध थियो भन्ने बारे तपाईंको के भनाइ छ ?

देवयानीः (रुँदै रुँदै) … व्यक्तिगत हो त्यसको बारे म कुरा गर्न चाहँदिनँ (रुँदै) ।

राजदूतः काठमाडौंको त्यो दिनको बेलुकी ८ र ९ बजेको बीचमा तपाईं र तत्कालीन राजदरबारको लङ्गबाट तपाईंसँग लामो वार्ता भएको कुरो लगबाट देखियो । यसबारे तपाईंले सम्झेर भएका कुराहरू कोसँग वार्ता भएको हो, के वार्ता भएको हो । त्यसमा प्रकाश पारिदिन हुन अनुरोध छ ।

देवयानीः मैले सम्झे अनुसार मलाई युवराजाधिराज सरकारले ८ बजेपछि फोन गरिबक्सेको थियो । त्यो वेला हुकुम भयो । मलाई आइतवार नेपालमा हुने राष्ट्रिय खेलकुद समारोहको इनागुरेसनको लागि म आउँदैछु कि छैन भनेर हुकुम भयो ।

मोबाइलमा फोन गरिबक्सेको थियो । मेरो मोबाइलमा (रुँदै…) मोबाइल क्लियर आइराखेको थिएन । सरकार मैले कुरा बुझिनँ भनें । फेरि सोधिबक्स्यो । म जवाफ दिनुभन्दा अगाडि फोन राख्दिबक्स्यो । त्यसपछि मैले सरकारको मोबाइलमा फोन लगाएँ, घण्टी गयो । गयो, गयो, गयो सरकारले फोन उठाइबक्सेन ।

अनि जब सरकारले फोन उठाइबक्सँदैनथ्यो, अटोमेटिकल्ली त्यसको चाहिं डिउटीको एडीसीलाई ट्रान्सफर हुन्थ्यो पहिला जस्तो । ट्रान्सफर
भयो । ट्रान्सफर हुने वेलामा डिउटी एडीसीले फोन उठायो । अनि मैले उहाँलाई भने सरकारको स्वर अलिकति लर्बराइरहेको बक्सिरहेको छ, गाथमा आराम छैन कि ? … लाग्यो भने मैले उहाँलाई एकचोटि माथि खोपीमा गएर हेर्नुहुन्छ कि भनेर रिक्वेस्ट गरें । पछि फोन राखें ।

फेरि एकछिन पछि सरकारको फोन आयो । अनि हुकुम भयो मलाई भोलि बिहान मात्र तिमीलाई फोन गर्छु । गुडनाइट भनेर हुकुम भो । अनि मैले पनि गुडनाइट भनें । त्यसपछि फेरि हुुकुम भयो म सुत्न लागेको छु है । म भोलि बिहान फोन गर्छु, गुडनाइट भनी फेरि राखिबक्सियो ।

राजदूतः तपाईंको तत्कालीन श्री ५ युवराजाधिराजसँग कुरा भएको वेलामा तपाईंले उहाँलाई सधैं जस्तो पाउनुभयो या विशेष फरक केही देखियो, सुनियो ?

देवयानीः सरकारको स्वर लर्बराई बक्सी रहेको थियो । अघि जस्तो अघि मैले भने अनुसार मलाई लाग्यो सरकारको गाथमा आराम छैन कि के भयो भनेर । त्यसैले (रुँदै रुँदै…) एडीसीलाई कन्ट्याक्ट गर्दाखेरी माथि खोपीमा जानुहुन्छ कि भनेर मैले रिक्वेष्ट मात्रै गरेको हो । (रुँदै … रुँदै … खोक्दै) ।

राजदूतः यो बाहेक उक्त घटनाबारे तपाईंले अरू केही कुरा प्रकाश पार्न सक्ने छ वा छैन ?

देवयानीः मलाई यो बाहेक अरू केही थाहा छैन । (रुँदै रुँदै सुँक्क गर्दै)

राजदूतः धन्यवाद ।

राजदूतः डाक्टर जैन …. देवयानी …..

डाक्टरः ……

राजदूतः यो टेप आज निर्देशानुसार माथि उल्लेख भएका प्रश्नहरू गरेर तयार गरिएको छ । यसलाई अब काठमाडौं पठाइनेछ ।

– नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटनासम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार

समाचार हिमालखबर बाट