चीनद्धारा अमेरिकालाई जातीय विभेद हटाई अल्पसंख्यक जनताको अधिकार रक्षा गर

एजेन्सी १९ जेठ, काठमाण्डौ । अमेरिकामा एक जना काला जातिका पुरूषलाई प्रहरीले घुँडाले घाँटी थिचेर मारेपछि अहिले अमेरिकाभर प्रदर्शन जारी भइरहेको छ । विभिन्न सहरमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारी त्यसलाई उल्लंघन गर्दै सडकमा निस्किएका छन् ।

उनीहरूले राष्ट्रपतिको निवास र कार्यालय रहेको ह्वाइट हाउस वरपर प्रदर्शन गरिरहेका छन् ।

ह्वाइट हाउस वरपर प्रदर्शन बढ्दै गएपछि सेक्रेट एजेन्सीका अधिकारीहरूले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक घन्टा ह्वाइट हाउसभित्रकै बंकरमा लिएर राखेका थिए ।

अमेरिकामा प्रदर्शन हिंसात्मक भइरहेका बेला प्रतिष्पर्धी शक्ति राष्ट्र चीनले भने खुच्चिङ शैलीमा प्रतिक्रिया जनाएको छ ।

यसअघि हङकङमा भएको प्रजातन्त्र पक्षधरको प्रदर्शनलाई अमेरिकाले समर्थन गर्दै आएको थियो ।

चीनमा मानव अधिकारको हनन् हुने र सिन्जियाङका मुस्लिम अल्पसंख्यकमाथि कम्युनिष्ट पार्टीले दमन गर्ने गरेको अमेरिकाको आरोप हुने गर्थ्यो । बेइजिङले मानव अधिकारको रक्षा र अल्पसंख्यकलाई सरंक्षण गर्नुपर्ने उसको माग हुन्थ्यो ।

यसपालि बेइजिङले वासिङ्टनलाई उसैको शैलीमा जवाफ दिएको छ ।

सोमबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिआन झाओले अमेरिकालाई जातीय भेदभाव उन्मुलन गर्न र अल्पसंख्यकको कानुन सम्मत अधिकारको रक्षा गर्न भनेका छन् ।

‘जर्ज फ्लोयडको मृत्युले अमेरिकामा जातीय भेदभाव र प्रहरी क्रुरता देखाउँछ,’ झाओले भनेका छन् ।

उनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गर्दा हङकङको विशेष मान्यता हटाउनेलगायत कुरा गरे अमेरिकालाई कडा जवाफ फर्काउने चेतावनी पनि दिएका छन् ।

यसअघि चिनियाँ मिडिया र विदेश मन्त्रालयका अधिकारीहरूले हङकङको प्रदर्शन हुँदा लोकतन्त्रको दुहाई दिने अमेरिकी राष्ट्रपति ट्रम्प अहिले लुकेर बंकरमा गएर बसेको भन्दै उडाएका छन् ।

राष्ट्रवादी पत्रिका ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले हङहङमा हिंसात्मक प्रदर्शन हुँदा लोकतन्त्रका लागि देखिएको हेरिरहुँजस्तो दृश्य भन्ने अमेरिकीहरूले अहिले आफ्नै झ्यालबाट त्यस्तै दृश्य देखिरहेको बताएका छन् ।

‘राष्ट्रपतिजी, सेक्रेट सर्भिसले घेरिएर बंकरमा लुक्न नजानुस्,’ उनले ट्वीटरमा लेखेका छन्,‘ जसरी तपाईं बेइजिङले हङकङका प्रदर्शनकारीसँग गर्नुपर्छ भन्नुहुन्थ्यो त्यसरी नै प्रदर्शनकारीसँग गम्भीरतापूर्वक वार्ता गर्नुस् ।