३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उललेख गरेका छन् । यसो हुनुको दोष उनले ठूला पार्टीहरुलाई लगाएका छन् ।
संविधानका प्रगतिशील पक्षहरू लागू नगरेर संविधान संशोधनको हल्ला मचाइरहेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । देशमा दलाल पुँजीवादको रजगज भएको भन्दै उनले त्यसलाई चुपचाप हरेर नहुने बताएका छन् ।
उनले ‘विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिका छातीमा बुट बजार्न थालेको’ पनि उल्लेख गरेका छन् । आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको उल्लेख गर्दै खनालले ‘संविधानमा उल्लिखित समाजवाद कता हराइरहेको छ ?’ भनेर प्रश्नसमेत गरेका छन् ।