२६ भदौ, काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ ।
यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए ।
हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यूनचापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यूनचापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ ।
केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ ।