Breaking News

दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (FEMBoSA) को बाह्रौँ सम्मेलन काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न

निर्वाचन आयोग नेपालको आयोजनामा भाद्र १९ मा समुद्‍घाटन भएको दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (FEMBoSA) को बाह्रौँ सम्मेलन काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न भएको छ । यस सम्मेलनमा दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्चका सदस्य राष्ट्रहरुमध्ये नेपाल, भारत, भुटान, श्रीलंका र माल्दिभ्सका निर्वाचन आयोगका प्रमुख तथा उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो।
सम्मेलनमा निर्वाचन सम्बन्धमा विश्व्यापी रुपमा देखिएका प्रवृत्तिहरुका सम्बन्धमा छलफल हुनुका साथै ूनिर्वाचन र जलवायु परिवर्तनू, ूनिर्वाचन र आप्रवासनू र ूनिर्वाचन र सामाजिक सञ्जालू गरी तीनवटा विषयहरुमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल भएको थियो ।

सम्मेलनको अन्त्यमा निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षहरुमा केन्द्रित रही बाह्र बुँदे काठमाडौँ घोषणापत्र जारी गरिएको छ । काठमाडौँ घोषणापत्रमा FEMBoSA अन्तर्गतका निर्वाचन व्यवस्थापन निकायहरुको संस्थागत र मानवीय क्षमतालाई सुदृढ गर्न एकसाथ काम गर्ने, एक अर्काको ज्ञान, सान्दर्भिक अध्ययन प्रतिवेदनहरू र अनुसन्धान प्रकाशनहरू अनलाइन प्लेटफर्महरू मार्फत साझा गरेर सदस्य निकायहरूबीच पारस्परिक सहयोग र सिकाइलाई थप प्रवर्द्धन गर्न प्रतिवद्धता जनाइएको छ । त्यसैगरी जलवायु परिवर्तनले अर्थतन्त्र, जनस्वास्थ्य र जीविकोपार्जन लगायत निर्वाचन प्रक्रियाहरूमा प्रतिकूल असर पर्ने गरेको हुनाले मितव्ययी र वातावरणमैत्री निर्वाचन व्यवस्थापन प्रविधि र अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाइएको छ । कृत्रिम वौद्धिकता (AI) लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूबाट सिर्जित अवसरहरूबाट लाभ लिन र यी उदीयमान प्राविधिक विकासहरूबाट हुने जोखिम र चुनौतीलाई नियन्त्रण र न्यूनीकरण गर्न सहयोग प्रवर्द्धन गर्ने साझा रणनीति तथा कार्य योजनाहरू बनाउन सबै सहभागी निकायहरुले सहमति जनाएका छन् । निर्वाचनलाई थप सहभागितामूलक र समावेशी बनाउन रोजगारी, शिक्षा वा अन्य उद्देश्यका लागि देश बाहिर रहेका मतदान गर्न योग्य नागरिकहरूलाई सम्बन्धित देशहरूमा प्रचलित कानूनहरू अनुरूप निर्वाचन प्रक्रियाहरूमा समावेश गर्ने विषयमा पनि प्रतिवद्धता जनाइएको छ।

घोषणापत्रमा निर्वाचन व्यवस्थापनमा साझा उद्देश्य र परिणाम प्राप्त गर्न विगतका सम्मेलनहरूमा भएका महत्त्वपूर्ण निर्णयहरूको समयसापेक्ष र द्रुत कार्यान्वयनलाई जोड दिइएको छ। FEMBoSA का सदस्य राष्ट्रहरू अध्यक्षताको अवधिको लागि अध्यक्षको रूपमा तोकिएको सदस्य देशको निर्वाचन व्यवस्थापन निकायमा FEMBoSA को सचिवालय राख्न सहमत भएका छन् ।सचिवालयले FEMBoSA सदस्यहरूको निर्वाचन आयोगहरूसँग नियमित सम्पर्क राख्ने, महत्त्वपूर्ण नीतिहरूको अद्यावधिक अभिलेख राख्ने र अन्य सहयोगी कार्यहरू आयोजना गर्ने अपेक्षा गरिएको छ। बाह्रौँ सम्मेलनले नेपाललाई दक्षिण एसियाली मुलुकका निर्वाचन व्यवस्थापन गर्ने निकायहरुको साझा मञ्च (FEMBoSA) को नयाँ अध्यक्षमा चयन गरेको छ ।