१९ भदौ, विराटनगर । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की इटहरी-भोजपुर ट्याक्सी
चलाउँछन् । मोरङ, सुन्दरहरैंचामा दिदीको परिवारसहित बसेर नजिकै नयाँ घर पनि बनाउँदै छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार भोजपुरबाट फर्किंदा उनले श्रीमती र दुई छोरीका लागि माछा लिएर आएका थिए । घरमा आउने बितिकै श्रीमती अस्मितासँग विवाद सुरु भइहाल्यो । विवादको मियो थियो-बन्दै गरेको घरमा पानी नहाल्नु ।
उनी घरबाट त्यसको भोलिपल्ट दुवै बालिकाको शव अंगालो मारेको अवस्थामा शनिबार दिउँसो स्थानीय नारायण न्यौपानेको केराघारीभित्र भेटियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो । तर, अस्मिता भने त्यहाँ थिइनन् ।
शनिबार दिउँसो छोरीको शव भेटेपछि प्रहरीले महिलाले पनि आत्महत्या गरेको आशंकामा नजिकै रहेको जंगलमा सर्च अपरेसन चलायो । हत्यापछि आत्महत्या गरेको आशंकामा जंगलमा तर चार दिन खोजी गर्दा भेटिइनन् । अन्य क्षेत्रमा पनि खोजी गर्दा महिला झापाको बिर्तामोडमा फेला परेकी छन् ।
उनी मानसिक रुपमा विक्षिप्तावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘बेपत्ता भएकी आमालाई विर्तामोडमा हिडिरहेको अवस्थामा फेला पारेर ल्याएका छौं’, मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
सडकमा अस्वस्थ अवस्थामा फेला पारेकी उनलाई कोशी अस्पताल विराटनगरमा लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । २ बालिकाको हत्या कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अनलाइनखबरबाट