Breaking News

इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन

तेल अभिभ । इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।
हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ। गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।
आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए। आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो। शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको उनीहरूको भनाई छ।

एजेन्सी