कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ भएको पृष्टि

१९ जेठ, बुटवल । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज फेरि कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो ।

काठमाडौंमा ३ सय २६ जनाको परीक्षण भएकामा ४० जनामा र भैरहवा प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

पीसीआर परीक्षणको सोमबार आएको रिपोर्ट अनुसार ४० जनामध्ये बुद्धभुमि नगरपालिकाका १० जना पुरुष, शिवराज नगरपालिका (चन्द्रौटा क्षेत्र) का २६ जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र बाणगंगा नगरपालिकाका दुईजना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार बुद्धभूमि नगरपालिकाको वडा नंं. ८ का १९ वर्षदेखि ३८ वर्ष उमेरका ८ जना र वडा नंं.१० का २७ र ४६ वर्षका पुरुष रहेका छन् ।

यस्तै शिवराज नगरपालिकाको वडा नंं.३ का १९ देखि ३० वर्षका ४ पुरुष, वडा नंं. ४ का १७ बर्ष देखि ५८ वर्ष उमेरका ११ पुरुष, वडा नंं. ६ का २८ वर्षका पुरुष, वडा नंं.१० का १७ बर्षका १ पुरुष र वडा नंं.११ का १८ वर्षदेखि ५८ वर्ष उमेरका ९ जना पुरुष रहेका
छन् ।

महाराजगञ्ज नगरपालिकाका वडा नंं. १ का बर्ष १९ का पुरुष १ जना र वडा नंं.२ का बर्ष २६ का १ पुरुष तथा बाणगंगा नगरपालिका वडा नंं. ११ का बर्ष ३८ र ३१ का दुई महिला रहेका फोकल पर्सन थापाले बताए ।

भैरहवा प्रयोगशालामा पुष्टि भएका ७ जनाको ठेगाना छुट्ट्याउन बाँकी रहेको उनले बताए । कपिलवस्तुमा ५ हजार १ सय ३३ जनाको स्वाब संकलन गरिएकोमा अझै एक हजार पाँच सय जनाको नतिजा आउन बाँकी रहेको थापाले बताए ।

कपिलवस्तुमा आइतबारसम्मको तथ्यांक अनुसार जिल्लाका १० वटा स्थानीय तहमा बनाइएका दुई सय वटा क्वारेन्टिन स्थलमा ४५ सय जना बसेका छन् ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।