Breaking News

शरीरमा आउने पोतोको उपचार कसरी गर्ने ?

शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबैभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।

घाममा धेरै बस्दा अनि वंशाणुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको औषधि खानेलाई पनि हुन्छ। कतिपय हर्मोनका कारणले पनि पोतो आउँछ।

१० प्रतिशतलाई कुनै कारण नभई यस्तो हुन्छ। चाया, पोतो धेरै मुखमै आउँछ। प्राय: गरेर गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउडोमा आउँछ।

पोतोको रंग हेरेर यसको उपचार हुन्छ। यसको प्राथमिक उपचार भनेको घामबाट बच्नु हो। चिल्लो छाला छ भने जेल, लोसन र सुख्खा छाला छ भने क्रिमहरू लगाउन सकिन्छ। त्यसका लागि परामर्श लिनुपर्छ।

भिटामिन सि, भिटामिन ए खान सकिन्छ। गाँजर, पाकेको फर्सी, अमला र अमिलो खानाहरू खान सकिन्छ। जसले छालालाई घामबाट बिगार्न जोगाउँछ।

अरू मलम पनि पाइन्छ। कतिपय खाने औषधि नै हुन्छ। यति मात्रै नभएर विभिन्न सर्जिकल उपचार पनि चलेको छ। कतिपय खर्चिलो उपचार पनि हुन्छ।

आफ्नो चाया पोतोलाई आफै उपचार नगरौं। यसको लागि स्किनको डाक्टरसँगै परामर्श लिनुपर्छ। उहाँहरूसँग परामर्श लिएर मात्रै उपचार गरौं। औषधि ठीक मात्रामा भएन भने त्यसले दीर्घकालीन समस्या निम्त्याउँछ।

यसलाई लापरबाही गरेमा भित्री रोग त निम्त्याउँदैन तर आत्मबल कमजोर बनाउँछ। गलत उपचार र मल्हमको प्रयोगले दीर्घकालीन समस्या निम्त्याउँछ।

लभाना स्किन एण्ड हेयर क्लिनिक महाराजन्मा कार्यरत छालारोग विशेषज्ञ प्रा.डा सविना भट्टराईसँग हामीले यस विषयमा भिडिओ कुराकानी गरेका छौं।

सेतोपाटीबाट

प्रा.डा सविना भट्टराई