Breaking News

ओली सरकारः हल्ला बढी, काम शून्य !

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच गत असार १७ गते राति सत्ता साझेदारीको सम्झौता भयो । सम्झौतालगत्तै एमालेले तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । अनि बजारमा कुर्लिन थाले काँग्रेस र एमालेका कार्यकर्ताहरु ।

अब सेयरको मूल्य बढ्छ, घरजग्गा कारोबार बढ्छ, गाडीको किनबेच बढ्छ र बजार चलायमान हुन्छ भन्न थालियो । यता, निजामती कर्मचारीहरुको पनि तलब बढ्छ भनियो । चार दशकदेखि यातायात क्षेत्र तथा ट्याक्सीमा रहेको सिण्डिकेट ओली सरकारले हटाउँछ र हरियो–कालो प्लेटको ट्याक्सी, ढुवानी गाडी, माइक्रो बसको नयाँ दर्ता खुल्छ पनि भनियो ।
ओली सरकार बन्नासाथ राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्ने बताइयो । महँगी, कालोबजारी, बेरोजगारी पनि हट्छ भनियो । ओलीले असार ३१ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरे । विष्णु पौडेलले पनि सोही दिन अर्थमन्त्रीको शपथ खाए । त्यतिखेर सेयरको मूल्य प्रतिकित्ता थियो । त्यो पनि बैंकले सय रुपैयाँमा निकालेकोमा दलालीहरुले मूल्य बढाएर १८ सय पुर्याएका थिए ।

यता, दिनमा दुई–तीन अर्बको मात्र सेयर कारोबार हुन्थ्यो । तर, ओली सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेलको इन्ट्रीसँगै एक महिनाकै बीचमा सेयर दोब्बरले बढ्यो । असारसम्म प्रतिकित्ता १८ सय रुपैयाँ रहेको सेयर एकाएक बढेर साउन ३१ गते हालसम्मकै उच्च तीन हजार ८१ अंकमा पुग्यो । त्यो दिन सेयर कारोबार पनि झण्डै ३० अर्ब भएको थियो ।
जुन इतिहासकै सर्वाधिक पनि हो । एक महिनासम्म निरन्तर उकालो लागेको सेयर बजार अहिले भने फेरि आरोलो लाग्न थालेको छ । तीन हजार बिन्दु पार गरिसकेको सेयर पछिल्लो एक सातामै २७ सय बिन्दुमा झरेको छ । बिहीबार (भद्रौ १३) गते सेयर ३६ अंकले घट्दै २७ सय ४९ बिन्दुमा झर्यो । कारोबार पनि १२ अर्ब २४ करोड मात्र भयो । यसरी एक महिनाकै बीचमा सेयरको मूल्य झण्डै १३ सय रुपैयाँले बढाइयो र घटाइयो पनि ।

सेयर भनेको जुवा हो । यो विश्लेषक तथा विज्ञहरुले समेत बताउँदै आएका छन् । सेयरमा ५०–५५ जनाको ठुलो लगानी छ । तिनीहरुले मूल्य बढाउाँ सेयरको मूल्य बढ्छ त घटाउँदा घट्छ । यी दलालीहरुले आफ्नो सेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् । त्यो पनि बजारमा विभिन्न भ्रम सिर्जना गरेर । अनि जब साना लगानीकर्ताको सेयर बिक्री गर्ने समय आउँछ, तब मूल्य घटाइदिन्छन् । झण्डै तीन वर्षअघि पनि सेयरको मूल्य यसरी नै बढेको थियो ।

तर, एकाएक उकालो लागेको सेयर बजार तीन वर्षको अवधिसम्म बढेन । किनकि यसमा तीनै दलालीहरुको हात थियो । उनीहरुले आफ्नो सेयर महँगोमा बेचिसकेका थिए । र, नयाँ सेयर किन्नका लागि मूल्य घटाइदिए । पछिल्लो एक महिनामा मात्र यी दलालीहरुले सेयरबाट खर्बौ आर्जन गरिसकेका छन् । अहिले यीनीहरुले आफ्नो सेयर बेचिसके ।

त्यसैले, अब सेयरको मूल्य बढ्ने छैन । उता, सेयरको मूल्य बढेको देखेर यो एक महिनाको बीचमा महँगोमा सेयर किनेकाहरु फेरि पनि डुब्ने देखिएको छ । उनीहरुको लगानी बालुवामा पानी नै हुनेछ । सरकार आफैंले जनता डुबाउने काम गरेको छ । किनकि सेयरमा लगानी गर्ने ठुलो लगानीकर्ता एमालेकै कार्यकर्ता रहेको बताइन्छ । एमाले सरकारले जनतालाई भ्रममा पार्ने र डुबाउनेबाहेक केही काम गरेको छैन ।

ओली २०७४ फागुल्न ३ गते दोस्राते पटक प्रधानमन्त्री बने । त्यतिखेर यातायातमन्त्री रघुवीर महासेठ भएका थिए । तर, ओली सरकारको कामभन्दा पनि गफ नै धेरै । हरेक पटक सरकारमा हुँदा काम चाँहि केही नगर्ने हल्ला भने बजारभरि फैलाउने । त्यतिखेर प्रधानमन्त्री हुँदा ओलीले आफ्नो सय दिनको उपलक्ष्यमा सदनमा घण्टौं भाषण दिए ।

त्यसमा उनको सबैभन्दा ठुलो घोष्णा थियो कि आफ्नो नेतृत्वको सरकारले यातायात क्षेत्रमा भएको सिण्डिकेट हटायो । यातायात क्षेत्रमा दशकदेखि सिण्डिकेट रहिआएको छ । यातायात व्यवसायीहरु न आफु जनतालाई सस्तोमा सेवा दिन्छन् न नयँमा व्यवसायी थपिन दिन्छन् । ओलीले सदनमा उभिएर यातायात क्षेत्रमा लामो समयदेखि रहिआएको सिण्डिकेट आफ्नो नेतृत्वको सरकारले हटाएको दाबी गरे ।

उनले यस्तो बताएपछि जनतामा एउटा आशा पलाएको थियो, अब यातायात व्यवसायीको दादागिरी सहनुपर्दैन । हतार हुँदा ट्याक्सी चढ्न पाइनेछ, त्यो सस्तोमा । तर, ओलीको उक्त उद्घोषको केही समयमै जनता निराशा हुन पुगे । यातायात क्षेत्रमा अहिले पनि सिण्डिकेट कायमै छ । ओली सरकारले कागजबाट त सिण्डिकेट हटायो तर व्यवहारिक रुपमा हटाउन सकेन । उनले त्यतिखेर यातायात क्षेत्रमा सिण्डिकेट हटायौं भनेर आम सर्वसाधारणबाट धेरै वाहवाह
बटुले ।

उनका कार्यकर्ताले बजारभरि विभिन्न हल्ला फिजाँए । तर, साँच्चिकै सिण्डिकेट हटेको भए अहिले पनि किन जनता सार्वजनिक यातायातमा झुण्डिएर यात्रा गर्न बाध्य छन् ? किन थोत्र्रा, पुराना गाडीमा आफ्नो ज्यानै जोखिममा राखेर जनता चढिरहेका छन् ? किन जनताले ट्याक्सी र यातायात व्यवसायीको दादागिरी सहनुपरिरहेको छ ? किन सरकारले तोकेको भाडामा जनता ट्याक्सी र सार्वजनिक यातायात चढ्न पाइरहेका छैनन् ?

ओली सरकारले साँच्चिकै सिण्डिकेट हटाएको भए आज जनताले यत्रो दुःख, कष्ट भोग्नु पर्दैन्थ्यो । न त मुलुकमा निजी प्लेटको सवारीसाधनको संख्या पनि यत्रो हुन्थ्यो । सार्वजनिक यातायात हतारको समयमा नपाइने । ट्याक्सीमा चढ्न हैसियत नपुग्ने भएपनि जनताले बैंक, वित्तिय संस्थाबाट ऋण लिएर निजी सवारी किने । अनि अझै पनि ओली आफ्नो सरकारले सिण्डिकेट हटाएको दाबी गर्छन् । यो त आफैँमा लाजस्पद छ ।

केही दिनअघि मात्र प्रधानमन्त्री ओलीले सदनमा उभिएर आफ्नो सरकार गठनसँगै सेयरको मूल्य बढेको बताए । नयाँ सरकार गठनसँगै अर्थतन्त्र लयमा फर्किएको उनको दाबी छ । तर, उनको सरकारले सेयरको मूल्य बढेको भए अहिले फेरि किन घट्यो ? सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय विवरण र नाफामा आधारित हुन्छ ।

कम्पनी नाफामा गयो भने सेयरको मूल्य बढ्ने हो । तर, यहाँ त बैंक, वित्तिय संस्था घाटामा गएका छन् । उद्योगहरु पनि बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । यता, हाइड्रोपावर, इन्स्युरेन्स कम्पनीहरु पनि डुबिसकेका छन् । अनि कसरी सेयरको मूल्य बढ्यो । सेयरको मूल्य बढाउन दलालीहरुको हात रहेको त प्रष्ट हुन्छ नै तर त्यो दलालीको नाइके अर्थात् जनता डुबाउन यो खेल खेलाउने अर्थमन्त्री विष्णु पौडेल र अर्थमन्त्री ओली रहेको पनि स्पष्टै हुन्छ ।

अहिले बैंक, वित्तिय संस्थाप्रति जनताको विश्वास घट्दै गएको छ । बैंकमा राखेको रकम कहिले खाताबाटै गायब हुने त कहिले कर्मचारीको मिलेमतोमा चोरी हुने घटनाले समग्र बैंकिङ क्षेत्रप्रति जनताको विश्वास घट्दो छ । बैंकमा बचत गर्नेसँगै कर्जा लिनेको संख्यामा ठुलो गिरावट आएको छ । अहिले बैंकसँग पैसा छ । तर, कर्जा लिने कोही छैन । किनकि जनताले बुझिसके कि बैंकबाट ऋण लिनु जिन्दगी सकाउनु हो ।

यता, बैंकबाट ऋण लिएका घरजग्गा, गाडी र सेयर किनेकाहरुले पनि साँवाब्याज तिर्न नसकेपछि धितो नै बैंकलाई जिम्मा लगाइदिएका छन् । यद्यपि, बैंकले त्यो धितो बिक्री गर्न सकेको छैन । किनकि बजारमा मन्दी छ । बजार झन्झन् मन्दीमा गएको छ । देशभर कोठा, सटर, फ्ल्याट खाली हुँदै गएका छन् । हिजो ओली सरकार आउनासाथ बजार चलायमान हुने बताएका एमाले–काँग्रेसकै कार्यकर्ता अहिले निराशा भएका छन् । काँग्रेस–एमाले सरकार गठनको दुई महिना नबित्दै तिनका कार्यकर्ताको खुशी गुमेको छ ।

 

 

रुषा थापा